दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय [भिडियो]
hamrakura.com · Tue Nov 03 00:00:00 UTC 2026

काठमाडौँ। सरकारले दुई नयाँ अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले एसियाली विकास बैंक (एडीबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर (सहुलियतपूर्ण ऋण) र २० मिलियन अमेरिकी डलर (अनुदान सहायता) स्वीकार गर्ने निर्णयसमेत गरेको छ। यसैगरी, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति दिने तथा नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्दै 'मल नियन्त्रण आदेश, २०८३' स्वीकृत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)