मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थापना दिवसमा श्रम संस्कृतिको श्रमदान अभियान

annapurnapost.com · Tue Nov 03 13:06:05 UTC 2026

ओखलढुङ्गा : राजनीति भनेको चुनावका बेला भाषण छाट्नु र आश्वासन बाँड्नु मात्र होइन, विपन्नको छाप्रो छाउनु, बाटो खन्नु र गाउँ सफा राख्नु पनि हो। यही मान्यतालाई आत्मसात् गर्दै श्रम संस्कृति पार्टीले खोटाङ र ओखलढुङ्गाका दुर्गम गाउँहरूमा श्रम, सेवा र सामाजिक उत्तरदायित्वको नयाँ राजनीतिक संस्कार थालेको छ।

विपन्न तथा अशक्तहरूका लागि घर बनाउने र बाटोघाटो खन्ने काम गर्दै आएको पार्टीले सोमबार आफ्नो पहिलो वार्षिकोत्सव ठूला समारोहबिना, सामूहिक श्रमदान र सरसफाइ गरेर मनाएको छ। खोटाङको हाडडाँडादेखि देनीथान जाने सिँढी तथा मन्दिर परिसरमा जिल्ला कमिटीले वृहत सरसफाइ गर्यो। कार्यक्रमबारे खोटाङका नेता अभिषेक घिमिरेले भने,‘स्थापना दिवसलाई भाषणमा मात्र सीमित नराखी श्रम, सेवा र स्वच्छतातर्फ जोडेर मनाउनु आफैँमा एउटा सकारात्मक सन्देश हो।’ यता ओखलढुङ्गाको खिजिदेम्बास्थित फलाटे बजार, रुम्जाटार र मानेभञ्ज्याङमा पनि श्रमदाताहरू आफैँ जुटेर बजार सफा गरे। पार्टी अध्यक्ष हर्क साम्पाङको ‘श्रम, प्रकृति, संस्कृति र प्रविधि’को सोच दुर्गम बस्तीसम्म पुगिसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)