मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माटोमा सुन फलाउने इन्जिनियर शशी कुमार

newsofnepal.com · Tue Nov 03 16:27:51 UTC 2026

विदेशको सुखसुविधा र लाखौँको आकर्षक तलबलाई लत्याएर आफ्नै माटोमा पसिना बगाउनु कुनै चानचुन आँट होइन । यो जीवनको सबैभन्दा ठूलो र जोखिमपूर्ण जुवा हो । अमेरिकाको चमकधमक र सूचना प्रविधिको उच्च तहमा काम गरिरहेका एक भारतीय इन्जिनियर शशी कुमारले सबैलाई अवाक् पार्ने एउटा यस्तो असाधारण निर्णय गरे । जसले हजारौँ विपन्न किसान परिवारहरूको चुलोमा सुख र समृद्धिको राँको बालिदियो । भारतको कर्नाटकस्थित टिप्टुरमा जन्मिएका शशीले बैंगलोर विश्वविद्यालयबाट इन्जिनियरिङ पूरा गरी अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट उच्च शिक्षा हासिल गरेका थिए । विश्वविख्यात कर्पोरेट कम्पनी विप्रोमा लगातार १२ वर्षसम्म मेहनत गरेपछि उनी ‘लिड आर्किटेक्ट’ जस्तो गरिमामय पदमा पुगेका थिए, जहाँबाट करियरको ग्राफ अझ आकाशिने निश्चित थियो । तर, भौतिक सुख र डलरको बिटोभन्दा आफ्नै पसिनाको मिठास र प्रकृतिको काखमा केही गर्ने हुटहुटीले उनलाई भित्रैदेखि खाइरहेको थियो, र अन्ततः सन् २०१० मा उनले अमेरिकाको लोभलाग्दो जागिर छाडेर भारत फर्कने कठोर निर्णय गरे ।

यति ठूलो र स्वप्निल निर्णय परिवारका लागि सहज थिएन । किनकि एउटा किसान परिवारका गरिबी र अभाव भोगेका उनका बुबाको सपना छोरा ठूलो हाकिम बनेको हेर्ने थियो । जब बुबाले छोराले अमेरिकाको लाखौँ कमाउने जागिर छाडेर माटोमा फर्किने जिद्दी गरेको देखे, उनी भित्रैबाट विचलित भए । जसका कारण बाबु र छोराबीच करिब आठ वर्षसम्म बोलचाल समेत बन्द भयो । परिवारको असहयोग, समाजको शंकास्पद दृष्टि र बुबाको मौन आक्रोशको पहाड छातीमा बोकेर हिँड्दा पनि शशीले आफ्नो सपनालाई मर्न दिएनन् र पछाडि फर्केर हेरेनन् । आफ्नो अदम्य अठोटलाई मूर्तरूप दिन उनले प्राकृतिक कृषि र दुग्ध उत्पादनलाई अत्याधुनिक वैज्ञानिक व्यवसायसँग मिसाउँदै ‘अक्षयकल्प अर्गानिक’ नामक कम्पनीको बीजारोपण गरे । तर, सुरुवाती दिनहरू फलामे च्युरा चपाए सरह निकै कठिन थिए र भारी लगानी जुटाउन भौंतारिनुपर्दा सन् २०१६ सम्म आइपुग्दा कम्पनी बन्द हुने संघारमा पुगिसकेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)