मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

महँगी र आर्थिक संकटबीच अमेरिकामा मध्यावधि निर्वाचनको मतदान

emountaintv.com · Wed Nov 04 04:24:34 UTC 2026

अमेरिकामा प्रतिनिधि सभा र सिनेटको भविष्य निर्धारण गर्ने मध्यावधि निर्वाचनका लागि मंगलवार मतदान भएको छ । बढ्दो महँगी, उच्च मुद्रास्फीति र दैनिक उपभोग्य वस्तुको बढ्दो लागतका कारण यो निर्वाचनलाई वर्तमान ट्रम्प प्रशासनको लोकप्रियता परीक्षणको रूपमा लिइएको छ । मंगलवार बिहान पूर्वी समयअनुसार ६ बजेबाट मेन, न्युयोर्क र भर्जिनियालगायतका राज्यहरूमा मतदान केन्द्रहरू खुलेका छन् । यस पटकको चुनावमा प्रतिनिधि सभाका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटको छिनोफानो हुनेछ । साथै, ३६ राज्यमा गभर्नर चयनका लागि पनि मतदान हुँदैछ । प्रतिनिधि सभामा बहुमत ल्याउन डेमोक्र्याट्सलाई कम्तीमा तीन सिटको अग्रता आवश्यक छ । ‘कुक पोलिटिकल रिपोर्ट’का अनुसार डेमोक्र्याट्सले १२ देखि २५ सिटसम्म जित्नसक्ने अनुमान गरिएको छ, जसले तल्लो सदनमा सत्ता परिवर्तनको संकेत गर्छ । सिनेटको दौड भने निकै प्रतिष्पर्धात्मक देखिएको छ । मेन, टेक्सास, मिचिगन, आयोवा, ओहायो, कान्सास र अलास्कालाई निर्णायक ‘ब्याटलग्राउन्ड’ राज्यको रूपमा हेरिएको छ। सिनेटमा बहुमतका लागि डेमोक्र्याट्सलाई चार सिटको थप आवश्यकता छ । एपी–एनओआरसीको पछिल्लो सर्वेक्षणले ८५ प्रतिशत मतदाताले अर्थतन्त्र र ८४ प्रतिशतले जीवनयापनको लागतलाई प्रमुख चुनावी मुद्दा बनाएको देखाएको छ । अधिकांश मतदाताले ट्रम्प प्रशासनको आर्थिक नीति, इरानसँगको तनाव र भन्सार शुल्कमा गरिएको वृद्धिलाई महँगीको मुख्य कारण मानेका छन् । ७४ प्रतिशत मतदाताले ट्रम्पको आर्थिक कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । निर्वाचन आयोगकाअनुसार ५ करोडभन्दा बढी मतदाताले यसअघि नै ‘अर्ली भोटिङ’मार्फत मतदान गरिसकेका छन् । केही प्रमुख राज्यहरूमा अघिल्ला निर्वाचनको तुलनामा मतदान प्रतिशत बढी देखिएको छ । पूर्वी क्षेत्रका मतदान केन्द्रहरू साँझ ७ बजे बन्द हुनेछन् भने अलास्काको मतदान सबैभन्दा अन्त्यमा बुधवार बिहान १ बजे (पूर्वी समय) सकिनेछ । मतदान सकिएपछि शुरु हुने मतगणना पूर्ण रूपमा सम्पन्न हुन केही दिन वा साता लाग्न सक्ने अनुमान गरिएको छ ।

Share this:

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)