मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आवास निर्माणको पहिलो किस्ता निकासा

gorkhapatraonline.com · Thu Nov 05 05:21:04 UTC 2026

रुकुमपश्चिम, कात्तिक १९ गते । रुकुमपश्चिममा जाजरकोट भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताबापतको रकम निकासा गरिएको छ । २०८० साल कात्तिक १७ गतेको भूकम्पबाट घर क्षति भई लाभग्राही कायम भएका प्रभावितमध्ये ७०१ जनाको आवास निर्माणका लागि रकम निकासा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मङ्गलबार भएको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले पहिलो किस्ता निकासा गरिएको जानकारी दिनुभयो । लाभग्राहीमध्ये ७६६ जनाका लागि पहिलो किस्ताको रकम माग गरिएकोमा ७०१ जनाको मात्र रकम आएकाले सम्बन्धित पालिकामा निकासा पठाइसकिएको उहाँले बताउनुभयो । प्रजिअ गौतमका अनुसार गत साउन २६ गते भएको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले चार पालिकाका ७६६ जना लाभग्राहीको आवास निर्माणका लागि पहिलो किस्ता माग गर्ने निर्णय गरेको थियो तर राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भने ७०१ जनाको लागि ५० हजारका दरले तीन करोड ५० लाख ५० हजार रकम आएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)