नरभक्षी चितुवा नियन्त्रणमा
gorkhapatraonline.com · Thu Nov 05 05:13:29 UTC 2026

धनगढी, कात्तिक १९ गते । कैलालीको गोदावरी नगरपालिकामा आतङ्क मच्चाएको चितुवालाई पासोमा पारेर नियन्त्रणमा लिइएको छ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानीसमेत रहेको गोदावरीमा सो चितुवाले पछिल्लो दुई सातादेखि आतङ्क मच्चाएको थियो । डिभिजन वन कार्यालयको टोलीले पासो थापेर मङ्गलबार साँझ चितुवालाई नियन्त्रणमा लिएको गोदावरी नगरपालिका–६ का वडाध्यक्ष जग्गुराम चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गोदावरी नगरपालिकाका विभिन्न बस्तीमा पसेर चितुवाले बङ्गुर, बाख्रा, कुकुर जस्ता घरपालुवा जनावर मार्दै आएको थियो । दसैँपछि बस्तीतिर आतङ्क मच्चाएको चितुवाका कारण स्थानीयवासी त्रसित बनेका थिए । घरनजिकै उखुबारीमा चितुवा बस्नुका साथै यत्रतत्र ओहोरदोहोर गर्न थालेपछि उनीहरूलाई साँझपख आवतजावतमा समेत समस्या भएको थियो । चितुवाका कारण गाउँवासीले असुरक्षित महसुस गरेपछि लालपुरस्थित ओमशान्ति भवननजिक वन कार्यालयले पासो थापेको वडाध्यक्ष चौधरीको भनाइ छ । बाख्रा राखेर पासो थापिएको केही घण्टाभित्रै चितुवा आएर पासोमा परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)