समृद्धिको कामनासहित तिहार
nagariknews.nagariknetwork.com · Fri Nov 06 02:41:44 UTC 2026

हिन्दु धर्मावलम्बीले समृद्धि, आरोग्य र पारिवारिक सुखको कामना गर्दै मनाउने धन्तेरस पर्व यस वर्ष कात्तिक २० गते आज शुक्रबार परेको छ। तिहार अर्थात् दीपावलीसँग जोडिएको यस पर्वमा धनकी देवी लक्ष्मी, धनका देवता कुबेर र आयुर्वेद तथा स्वास्थ्यका देवता धन्वन्तरीको पूजा गर्ने धार्मिक परम्परा छ। यस दिन सुन, चाँदी, तामा, पित्तललगायतका धातुका सामग्री खरिद गर्ने चलनसमेत छ।
धन्तेरसलाई धनत्रयोदशी पनि भनिन्छ। चन्द्रमासअनुसार कात्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने भएकाले यसको नाम धन्तेरस रहन गएको धार्मिक मान्यता छ। ‘धन’ ले सम्पत्ति र ‘तेरस’ ले त्रयोदशी तिथिलाई जनाउँछ। यस पर्वलाई धन आर्जनको कामना गर्ने अवसरका रूपमा मात्र नभई स्वास्थ्य, दीर्घायु र सुखशान्तिको प्रतीकका रूपमा पनि लिइने भएकाले सर्वत्र धन्तेरस मनाइने अध्ययता ज्योतिष शिवा पोखरेलको तर्क छ। ‘धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा भगवान् धन्वन्तरी अमृतको कलश लिएर प्रकट भएका थिए’, ज्योतिषी पोखरेल भन्छन्,‘ धन्वन्तरीलाई आयुर्वेद र स्वास्थ्यका देवताका रूपमा पूजिने भएकाले यस दिन परिवारका सदस्य स्वस्थ र दीर्घजीवी होऊन् भन्ने कामनासहित पूजा गरिन्छ। त्यस्तै माता लक्ष्मी र भगवान् कुबेरको पूजा गरी घरमा धनधान्य, आर्थिक स्थिरता र समृद्धि कायम रहोस् भन्ने प्रार्थना गरिन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)