मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विकासशील देशको बाह्य ऋण ९.४ ट्रिलियन डलर पुग्यो, ऋण तिर्नै १.४ ट्रिलियन खर्च

arthasansar.com · Fri Nov 06 06:15:50 UTC 2026

विकासशील देशहरूको बाह्य ऋण सन् २०२५ मा बढेर अहिलेसम्मकै उच्च ९.४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । विश्व बैङ्कका अनुसार यो ऋण महामारीपछि कै सबैभन्दा तीव्र गतिमा बढेको हो । विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको वार्षिक अन्तर्राष्ट्रिय कर्जा प्रतिवेदनअनुसार ऋण वृद्धिमा निजी क्षेत्रको योगदान प्रमुख छ । निजी ऋणदाताबाट लिइएको ऋण तथा सार्वजनिक उद्यमहरूले जारी गरेका ऋणपत्रमा करिब ३५ प्रतिशतले वृद्धि भएको छ ।

विशेषगरी विश्व बैङ्कले सबैभन्दा कमजोर भनेर वर्गीकरण गरेका विकासशील देशहरूमा बाह्य ऋणको वृद्धि उच्च देखिएको छ । अन्तर्राष्ट्रिय वित्तीय स्रोतमा पहुँच बढे पनि ऋणको लागत भने घट्न नसकेको प्रतिवेदनले औँल्याएको छ । विश्व बैङ्क समूहकी प्रमुख तथ्याङ्कविद् हाइशान फुका अनुसार कम तथा मध्यम आय भएका देशहरूमा निजी ऋणको प्रवाह पुनः बढ्नु सकारात्मक भए पनि त्यसको लागत उच्च छ । यी देशहरूले बढी ऋण लिइरहेका छन् र बढी ब्याज तिर्नुपरिरहेको छ । त्यसले गर्दा दीर्घकालीन विकास तथा जनताका लागि आवश्यक क्षेत्रमा लगानी गर्न उपलब्ध हुने रकम घटिरहेको उनले बताएकी छन् । प्रतिवेदनअनुसार धेरै सरकारले परिपक्व हुँदै गएको पुरानो ऋण तिर्न नयाँ ऋणपत्र जारी गरिरहेका छन् । तर, यसले ऋणको वास्तविक भार घटाउनुको सट्टा उच्च ब्याजदरमा भुक्तानीको दायित्व पछाडि सार्ने काम गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)