३१ लाखभन्दा बढी विगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर
gorkhapatraonline.com · Fri Nov 06 08:50:00 UTC 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित पाँच जनाविरुद्ध ३१ लाखभन्दा बढी विगो मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। लिखु गाउँपालिका वडा नं. ९ पोकलीमा आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ठूलो रकम हिनामिना भएको भन्दै परेको उजुरीमाथि अनुसन्धान गर्दा सो भ्रष्टाचारको रहस्य खुलेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार, प्रतिवादीहरूले आफ्नो पदको दुरुपयोग गर्दै लिखु गाउँपालिकालाई गैरकानूनी हानि पुर्याउने बदनियतले नक्कली तथा फर्जी विवरण तयार गरी भत्ता रकम हिनामिना गरेको पुष्टि भएको छ।
लिखु गाउँपालिका वडा नं. ९ का तत्कालीन वडा अध्यक्ष शुकविर तामाङले विभिन्न व्यक्तिको नाममा आफ्नै दायाँ हातको बुढी औंलाको ३६० वटा थान औंठाछाप प्रयोग गरी २९ लाख १५ हजार दुई सय रुपियाँ भुक्तानी लिए-लिन लगाएको पाइएको छ। भत्ता वितरण नामावलीमा दोहोरो नाम राखी रकम वितरण गरिएको देखाउनुका साथै मृत्यु भइसकेका र बसाइँसराइ गरी अन्यत्र गइसकेका लाभग्राहीहरूको लगत कट्टा नगरी रकम वितरण गरिएको झूटो विवरण पेस गरिएको छ। गलत विवरण र अभिलेखका आधारमा पेस्की फछ्यौट गरी जम्मा ३१ लाख ६७ हजार दुई सय रुपियाँ हानिनोक्सानी तथा हिनामिना भएको आयोगले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)