दुई घण्टासम्म ट्याक्टरमुनि छटपटाए चालक, उद्धार गर्दा मृत्यु भइसकेको थियो
annapurnapost.com · Fri Nov 06 14:25:09 UTC 2026

विराटनगर : मोरङको कटहरीमा दुर्घटनामा परेर ट्याक्टरमुनि च्यापिएका एक चालकले दुई घण्टाभन्दा बढी समय छटपटिँदै बिताए। उनलाई बाहिर निकाल्न स्थानीय र प्रहरीले निरन्तर प्रयास गरे पनि ट्याक्टर र त्यसमा लोड गरिएका गोलिया काठ पन्छाउन नसक्दा उद्धारमा ढिलाइ भयो। अन्ततः ट्याक्टर उठाएर बाहिर निकाल्दा चालकको मृत्यु भइसकेको थियो। कटहरी गाउँपालिका–६ सनिहाटस्थित भित्री सडक खण्डमा शुक्रबार दिउँसो दुर्घटना हुँदा धनपालथान गाउँपालिका–१ का ५५ वर्षीय सदानन्द साहको मृत्यु भएको हो।
मोरङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार थलाहाबाट नयाँ बजारतर्फ जाँदै गरेको को २ त ५७९६ नम्बरको गोलिया काठ लोड गरिएको ट्याक्टर दिउँसो करिब ३ः१० बजेतिर सडकमा पल्टिएको थियो। स्थानीयका अनुसार सडकमा हिलो जस्तो अवस्था थियो। नहर कटाउने क्रममा ट्याक्टर अनियन्त्रित भएर पल्टिएको उनीहरूको भनाइ छ । ट्याक्टर पल्टिएपछि चालक साह भाग्न खोजेका थिए। तर, ट्याक्टरमा लोड गरिएका गोलिया काठले उनलाई थिचेको प्रत्यक्षदर्शीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)