मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बाठो र मानवमैत्री चरा काग

gorkhapatraonline.com · Fri Nov 06 23:50:37 UTC 2026

पूर्वीय सभ्यता अनुसार कागलाई सत्ययुग र कलियुग जोड्ने बाठो पन्छीका रूपमा चिनिन्छ । सत्ययुगमा देवताहरूले अमृतको सुरक्षा गर्ने जिम्मेवारी कागलाई दिएका थिए । बाठो कागले कस्तो हुँदो रहेछ अमृत भनेर चोरेर खायो अनि चुचोमा अमृत लागेको कसैले देख्ला भनेर दुबोमा पुछेको किंवदन्ती छ । अमरत्व र बाठोपनलाई स्वीकार गर्दै कालान्तरदेखि कागतिहारमा यसको पूजा गर्ने चलन बसेको वरिष्ठ चराविद् डा. हेमसागर बराल बताउनुहुन्छ । पन्छीहरूमध्ये बाठो र मानवमैत्री चरा काग मानिन्छ । उहाँले भन्नुभयो, “कागमा मानिसमा जस्तै सिक्न सक्ने, स्मरण गर्ने, परिस्थितिलाई प्रभावित पार्न सक्ने क्षमता हुन्छ, पछिका लागि खानु पर्छ भन्ने बुद्धि भएकैले कागले खाना लुकाउने गर्छ ।”

मरेका जीवजन्तु खान रुचाउने कागको जीवन निकै सङ्घर्षशील रहेको वरिष्ठ चराविद् टीकाराम गिरी सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “काग कति बाठो हुन्छ भने मरेका किरा काठको छेस्काले निकालेर खान्छ, भाँडाका पानीमा ढुङ्गा खसालेर पानी माथि ल्याएर प्यास मेट्छ ।” त्यति मात्र होइन, खानेकुरा कसरी चोर्नु पर्छ भन्ने गहन अध्ययन गर्ने क्षमता कागको हुन्छ । कसैले खानेकुरा बोकेर हिँडेको छ भने त्यसको पछि लागिरहन्छ । मौका मिल्नासाथ खोसेर उड्छ । घर वरपर रहेका कुखुराका चल्ला ठुँगेर मारेपछि च्यापेर उड्छ । यसले चिल र बाजले जस्तो जिउँदै खाँदैन । ठुला रुखमा गुँड बनाउने घर कागहरू आफ्नो समूहको सुरक्षामा निकै चनाखो हुन्छन् । गिरीले थप्नुभयो, “समूहको एउटा कागलाई केही भयो भने हुल बाँधेर दुःख दिनेलाई लघारेरै छाड्छन् ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)