सीमित कोटाले किसान निराश
gorkhapatraonline.com · Sat Nov 07 00:38:49 UTC 2026

कञ्चनपुर, कात्तिक २१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कञ्चनपुरमा धान खरिद सुरु गरेको छ । कम्पनीमा बिहीबार र शुक्रबार धान बिक्री गर्न आउने किसानको भिड लागेको छ । किसानले धान भित्र्याएको करिब डेढ महिनापछि मात्रै कम्पनीले खरिद प्रक्रिया अघि बढाएको हो । समयमै सरकारी मूल्य पाउन नसक्दा धेरै किसानले सस्तोमै व्यापारी तथा स्थानीय गल्लामा बिक्री गर्न बाध्य भएको गुनासो पनि गरेका छन् । कम्पनीको महेन्द्रनगर कार्यालयका प्रमुख प्रकाश न्यौपानेका अनुसार केन्द्रीय कार्यालयबाट कोटा निर्धारणसम्बन्धी पत्र ढिलो आएकाले प्रक्रिया केही लम्बिएको हो ।
कम्पनीले यस वर्ष एक जना किसानबाट बढीमा ३० क्विन्टलका दरले जिल्लाभरबाट आठ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको न्यौपानेले जानकारी दिनुभयो । कम्पनीले गत वर्ष सात हजार क्विन्टल धान खरिद गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)