गौतम बुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न माग
gorkhapatraonline.com · Sat Nov 07 02:19:42 UTC 2026

रुपन्देही, कात्तिक २१ गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । विमानस्थल लामो समयदेखि अपेक्षाकृत रूपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रको पर्यटन, उद्योग, व्यवसाय र समग्र अर्थतन्त्रमा असर परेको भन्दै उनीहरूले प्रभावकारी सञ्चालनका लागि सरकारको स्पष्ट नीति र पहल आवश्यक रहेको बताएका हुन् ।
बिहीबार भैरहवामा आयोजना गरिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी : पर्यटन, कनेक्टिभिटी तथा आर्थिक समृद्धिका सम्भावना’ विषयक गोष्ठीका सहभागीले विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा पूर्वराजदूत विजयकान्त कर्णले विमानस्थलको पूर्वाधार क्षमता र वर्तमान सञ्चालन अवस्थाबिच ठुलो अन्तर रहेको बताउनुभयो । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थल आर्थिक दबाबमा परेको र निजी क्षेत्रको लगानी, रोजगारी तथा स्थानीय अर्थतन्त्रसमेत प्रभावित भएको उहाँको भनाइ थियो । हवाई सम्पर्क सञ्जाल, प्राविधिक तथा मौसमसम्बन्धी अवरोध, बजार पहुँच, संस्थागत जवाफदेहिता र नीतिगत निरन्तरतालाई उहाँले प्रमुख चुनौतीका रूपमा औँल्याउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)