मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

नेपाली साहित्यका विराट् प्रतिभा

gorkhapatraonline.com · Sat Nov 07 03:28:51 UTC 2026

आफ्नो युगको शिखर व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्याकाशका उज्ज्वल नक्षत्र हुनुहुन्छ । नेपालीको कल्याण, राष्ट्रको मङ्गल तथा मानव कल्याण नै उहाँको साहित्यिक जीवनको उद्देश्य थियो । उहाँ युगद्रष्टाका साथै युगस्रष्टा पनि हुनुहुन्थ्यो । उहाँको गहिरो र व्यापक दृष्टिले भूत, वर्तमान र भविष्यलाई समग्र रूपमा समेट्न सफल भएको छ । उपलब्धिको दृष्टिले होस् कि समृद्धिको दृष्टिले, गुणवत्ताको दृष्टिले होस् कि अर्थवत्ताको दृष्टिले वा परिमाणको दृष्टिले– उहाँको साहित्यिक योगदान गौरवको विषय हो । बहुमुखी प्रतिभाका कारण देवकोटा नेपाली साहित्यका मूर्धन्य साहित्यकारका रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रमा पनि विश्वका एक महान् प्रतिभाका रूपमा स्थापित हुनुभएको छ ।

सरस्वतीका वरदपुत्र महाकवि देवकोटाको जन्म काठमाडौँको डिल्लीबजारमा विसं १९६६ मा र मृत्यु पशुपतिनाथस्थित आर्यघाटमा विसं २०१६ मा भएको थियो । उहाँले साहित्यका विविध विधा महाकाव्य, खण्डकाव्य, निबन्ध, समालोचना, अनुवाद आदिमा सफलतापूर्वक कलम चलाई नेपाली साहित्यलाई समृद्ध बनाउनुभयो । मूल रूपमा कवि भए पनि उहाँले साहित्यका प्रत्येक विधाको उन्नयनमा प्रशस्त योगदान प्रदान गर्नुभयो । नेपाली अनुवाद साहित्यको क्षेत्रमा उहाँले अविस्मरणीय र अतुलनीय योगदान गर्नुभयो । उहाँ नेपाली अनुवाद साहित्यको मेरुदण्ड हुनुहुन्छ । उहाँले ५० वर्षको उमेरमै ८९ भन्दा बढी कृति लेख्नुभयो । उहाँका प्रखर र विद्वतापूर्ण, अलौकिक प्रतिभा देखेर हिन्दीका प्रसिद्ध साहित्यकार राहुल सांकृत्यायनले भन्नुभएको छ, “देवकोटा नेपालीका पन्त, प्रसाद, निराला तिनै जना हुन्; यसमा अतिशयोक्ति छैन ।” त्यस्तै प्रखर प्रतिभाकै कारण उहाँलाई नेपालका कालीदास, सेक्सपियर, वर्डस्वर्थ, सेली पनि भनिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)