इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान
arthasansar.com · Sun Nov 08 01:31:07 UTC 2026

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्। गत हप्ता सम्पन्न निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र विपक्षी नेता आइजेनकोट कसैको पनि गठबन्धनले १२० सदस्यीय इजरायली संसद (नेसेट) मा स्पष्ट बहुमत ल्याउन नसकेपछि राष्ट्रपतिले दलहरूसँगको निरन्तर छलफलपछि यो निर्णय लिएका हुन्। नयाँ सरकार गठनका लागि आइजेनकोटले २८ दिनको समय पाएका छन्। यदि उक्त समयमा पनि सरकार गठन हुन नसकेमा उनलाई थप १४ दिनको समय दिइन सक्ने बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
सरकार गठनको जिम्मेवारी पाएलगत्तै सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै आइजेनकोटले भनेका छन्, 'अहिले राष्ट्रिय आपतकालीन सरकार गठन गर्ने बेला हो। हामी यसको योग्य छौं भनी सुनिश्चित गर्न म सबै प्रयास गर्नेछु।' निर्वाचनमा नेतन्याहुको दक्षिणपन्थी ‘लिकुड’ पार्टी र उसका सहयोगी दलले ५३ सिट जितेका छन् भने आइजेनकोटको मध्यमार्गी ‘यासर’ पार्टी र अन्य तीन यहुदी विपक्षी दलको गठबन्धनले ४८ सिट जितेको छ। इजरायलको इतिहासमा हालसम्म कुनै पनि पार्टीले एकल बहुमत ल्याउन सकेको छैन, जसका कारण त्यहाँ सधैं गठबन्धन सरकार बन्ने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)