मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्धकार हटाउने पर्व

gorkhapatraonline.com · Sun Nov 08 02:56:39 UTC 2026

नेपालीको दोस्रो ठुलो चाड तिहार सुरु भएको छ । यो चाड पाँच दिनसम्म मनाइन्छ । यसलाई यमपञ्चक पनि भनिन्छ । प्रकृति, मानव र पशुपन्छीबिचको त्रिपक्षीय प्रगाढ सम्बन्धलाई उजागर गर्ने तिहार नेपालको मौलिक पर्व हो । उज्यालोको महापर्वका रूपमा मनाइने तिहारले हामीलाई आपसी सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकताको सूत्रमा बाँधिन अभिप्रेरित गर्छ । तिहार केवल झिलिमिली बत्ती बाल्ने र रमाइलो गर्ने पर्व मात्र होइन, यो जीवजगत्प्रतिको कृतज्ञता ज्ञापन गर्ने एक अनुपम संस्कृतिसमेत हो । यमपञ्चकका पाँच दिनमा काग, कुकुर, गाई, गोरुका साथै गोवर्धन र दाजुभाइको पूजा गरिन्छ । यसले सनातन वैदिक दर्शनको पर्यावरणीय सन्तुलन र सहअस्तित्वको भावनालाई प्रतिविम्बित गर्दछ । मानव जीवनलाई सहज बनाउन सहयोग गर्ने प्रकृतिका हरेक अवयवलाई आदर गर्नु यस पर्वको सुन्दर पक्ष हो । सृष्टिको निरन्तरता र सन्तुलनका लागि मानिस, पशुपन्छी र प्रकृतिबिचको सम्बन्ध प्रगाढ हुनै पर्छ । तिहारको मुख्य आकर्षण दिदीबहिनी र दाजुभाइबिचको पवित्र प्रेमको प्रतीक ‘भाइटीका’ हो । यसको थालनी पौराणिककालदेखि नै भएको कथन छ । मृत्युका देवता यमराज र बहिनी यमुनाबिचको अगाध स्नेह र प्रेमबाट प्रभावित यो पर्वले दाजुभाइ र दिदीबहिनीबिच प्रेम र मेलमिलापको सन्देश दिन्छ । पौराणिक मान्यता अनुसार कार्यव्यस्तताका कारण लामो समयदेखि भेट हुन नसकेका दाजु यमराजलाई बहिनी यमुनाले आमन्त्रण गरी पाँच दिनसम्म श्रद्धा र भक्तिपूर्वक आफ्नो निवासमा राख्नुभएको थियो ।

कात्तिक शुक्ल द्वितीयाका दिन यमुनाले दाजु यमराजको दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिनुभयो । मखमली र सयपत्री फूलको माला पहिराइदिनुभयो । साथै ओखर फोडेर, तेलको धाराले घेरेर कालको बाटो छेकिदिनुभयो । बहिनीको यो निश्छल प्रेमभाव र सत्कारबाट प्रसन्न भई यमराजले ‘यस दिन जसले दिदीबहिनीको हातबाट टीका र आशीर्वाद ग्रहण गर्छ, उसलाई अकाल मृत्युको भय रहने छैन’ भन्ने वरदान दिनुभयो । पौराणिककालको यही दाजु र बहिनीबिचको पवित्र प्रेमभाव तथा दायित्वबोध नै आज हाम्रो समाजमा भाइटीकाका रूपमा जीवन्त छ । सप्तरङ्गी टीका र आशीर्वादले पारिवारिक सम्बन्धलाई प्रगाढ र जीवन्त तुल्याउँछ । भाइटीकाले दाजुभाइ र दिदीबिहिनीबिचको सम्बन्धमा आउने तिक्तता र बेमेल पखालेर स्नेह र आत्मीयताको नयाँ ऊर्जा थप्ने गर्दछ । यस पर्वले आर्थिक गतिविधि चलायमान बनाउन ठुलो भूमिका निर्वाह गर्छ । स्वदेश तथा विदेशमा रहेका नेपालीको पारिवारिक पुनर्मिलन गराउँछ । यस अवसरमा खेलिने देउसीभैलोले सहरदेखि गाउँसम्म लोकभाका र लोकनृत्यको अलौकिक मनोरञ्जन प्रदान गर्छ । यसलाई विकृतिरहित बनाउँदै आधुनिकतासँग पनि तालमेल मिलाउनु पर्छ । हाम्रा चाडपर्वलाई भड्किलो बनाउनु हुँदैन । समाजका सबैले सहज रूपमा मनाउन सक्ने वातावरण बनाउनु पर्छ । समाजले थेग्न सकेन भने चाडपर्व विकृतिमय बन्ने मात्र होइन, लोप हुने खतरा पनि रहन्छ । फजुल खर्च, तडकभडक, जुवातास खेल्ने र पटकाजन्य पदार्थको प्रयोगले निम्त्याउने जोखिमप्रति हामी सबै सचेत हुन आवश्यक छ । आतसबाजीले वातावरण प्रदूषण मात्र गर्दैन, आगलागी जस्ता दुर्घटना निम्त्याउन सक्छ । चाडपर्वलाई भड्किलो र खर्चिलो बनाउनुभन्दा पनि यसको आन्तरिक दर्शन, सरलता र स्वच्छतालाई आत्मसात् गर्नु पर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)