लक्ष्मीपूजाको दिन १७ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण
canadanepal.com · Sun Nov 08 07:21:36 UTC 2026

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले आज लक्ष्मीपूजाको दिन विद्युतको अधिकतम माग करिब १ हजार ७ सय मेगावाट पुग्ने प्रक्षेपण गरेको छ। प्राधिकरणले सो माग आन्तरिक उत्पादनबाटै पूरा हुने जनाएको छ। हाल नेपालको कुल विद्युत उत्पादन क्षमता करिब २ हजार ५ सय मेगावाट रहेको छ। मागभन्दा करिब ८ सय मेगावाट बढी उत्पादन हुने भएकाले तिहारभर विद्युत आपूर्तिमा कुनै समस्या नहुने प्राधिकरणका अधिकारीहरूले बताएका छन्।
प्राधिकरणले लक्ष्मीपूजा तथा तिहारका अन्य दिनमा विद्युत आपूर्ति सहज र भरपर्दो बनाउन विशेष तयारी गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको उच्च व्यवस्थापन तथा प्रादेशिक प्रमुखहरूको बैठकले पर्वका समयमा विद्युत आपूर्ति नियमित बनाउन आवश्यक निर्देशन दिइसकेको छ। तिहार र छठ पर्वलाई लक्षित गर्दै उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)