मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

arthasansar.com · Mon Nov 09 03:14:07 UTC 2026

गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त बनेको काठमाडौंको पाँचतारे होटल हिल्टनले यस वर्षको तिहार तथा छठ पर्वको अवसरमा दिएको शुभकामना सन्देशले धेरैको ध्यान खिचेको छ। होटलले नक्साल स्थित जलेर खण्डहर बनेको भवन अगाडी ठूलो ब्यानर राखेर २०८२ भदौमा देशले भोग्नुपरेको अप्रिय राष्ट्रिय विपत्तिलाई स्मरण गर्दै पुनः त्यस्तो अवस्था कहिल्यै नआओस् भन्ने कामना गरेको छ।

उक्त ब्यानरमा लेखिएको छ, ‘वि.सं. २०८२ भदौमा जस्तो अप्रिय राष्ट्रिय विपत्ति फेरि कहिल्यै भोग्न नपरोस्। देशमा सुख, शान्ति र समृद्धि छाओस्। पशुपतिनाथले हामी सबैको रक्षा गरून्। शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना।’ हिल्टनको यो सन्देश केवल चाडपर्वको शुभकामनामा मात्र सीमित छैन। यसले गत वर्षको आन्दोलनका क्रममा देशले भोगेको ठूलो मानवीय तथा भौतिक क्षतिको पीडालाई समेत स्मरण गराएको छ। काठमाडौंको नक्सालमा अवस्थित हिल्टन होटल २०८२ भदौ २४ गते भएको आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। शंकर समूहको लगानीमा निर्माण भएको उक्त पाँचतारे होटल सञ्चालनमा आएको एक वर्ष पनि नपुग्दै आगलागीको चपेटामा परेको थियो। सन् २०१६ देखि निर्माण सुरु भएको उक्त होटलमा करिब ८ अर्ब ३५ करोड रुपैयाँ लगानी भएको थियो। १७ तले संरचना, १७२ भन्दा बढी कोठा तथा अत्याधुनिक सुविधासहित निर्माण गरिएको होटल नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण लगानीका रूपमा हेरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)