खेतमै तिहार मनाउँदै किसान
gorkhapatraonline.com · Mon Nov 09 07:22:05 UTC 2026

घरआँगनमा तिहारको रौनक छाएको छ । गाउँदेखि सहरसम्म देउसीभैलोले तिहारमय बनेको छ । तर, दाङका केही किसानलाई भने तिहारको रमझमसँगै खेतमा पाकेको धान भित्र्याउने चटारो छ । वर्षभरि परिवारको छाक टार्ने अन्न घरमा भित्र्याउने समय भएकाले उनीहरू यस वर्षको तिहार खेतमै मनाइरहेका छन् ।
जिल्लाको तुलसीपुर, घोराहीको नारायणपुर क्षेत्र र दंगीशरण क्षेत्रका किसानलाई अहिले धान भित्र्याउने चटारो छ । महिनौँको मेहनत र पसिनाबाट उत्पादन गरेको धान खेतमै पाकेर तयार भएपछि किसानहरू चाडपर्वको रमझमसँगै वर्षभरि खाने अन्न सुरक्षित गर्न जुटेका छन् । दंगीशरण गाउँपालिका–३ हेकुलीका अर्जुन थापा यतिबेला खेतमा धान भित्र्याउन व्यस्त हुनुहुन्छ । गाउँमा अरूले तिहार मनाइरहेका बेला उहाँ भने खेतमा पाकेको धान घरमा भित्र्याउन जुट्नुभएको छ । कृषि नै परिवारको मुख्य आयस्रोत भएकाले अन्न भित्र्याउनु पनि आफ्ना लागि तिहारसरह भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आयस्रोत भनेकै कृषि हो । अहिले तिहार र धान भित्र्याउने समय सँगसँगै परेको छ । यी दुवै हाम्रा लागि महत्त्वपूर्ण छन् । तिहार पनि मनाउने र अन्न पनि भित्र्याउने काममा लागेको छु । त्यसैले यसपालिको तिहार खेतमै मनाउँदै छु ।” थापाका लागि तिहार साँझपख मनाए पनि हुन्छ, तर खेतमा पाकेको धान समयमै भित्र्याउनुपर्छ । वर्षभरि परिवारको पेट पाल्ने अन्न सुरक्षित गर्नु अहिलेको पहिलो जिम्मेवारी भएको उहाँ बताउनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)