मुस्ताङमा २० दिनमै ५१ हजारभन्दा बढी पर्यटक भित्रिए
barnanmedia.com · Mon Nov 09 07:13:06 UTC 2026

मुस्ताङमा कात्तिक महिनाको २० दिनमा ५१ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकको आगमन भएको छ । गएको भदौ महिनादेखि लगातार प्राकृतिक विपत्तिको चपेटामा परेको कारण सुस्ताएको मुस्ताङको पर्यटन क्षेत्र कात्तिक महिनामा लयमा फर्किदै करिब तीन साताको अवधिमा ५१ हजार १२३ जना नागरिक प्रवेश गरेको तथ्याङ्कले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार यस अवधिमा आन्तरिक पर्यटक ४१ हजार १ सय ९१ जना, सार्क राष्ट्रका ८ हजार ५ सय ४९ जना र अन्य राष्ट्रका १ हजार ३ सय ८३ जना नागरिक प्रवेश गरेको बताउनुभयो । सूचना अधिकारी बस्यालले भन्नुभयो,‘‘पर्यटकको आगमनमा सुधार भएको छ, मौसम अनुकुल भए जाडोयाममा पनि चहलपहल हुन्छ ।’’ जिल्ला प्रहरी कार्यालयको पर्यटक सूचना केन्द्रका अनुसार स्वदेशी पर्यटकमा २९ हजार ५ सय ११ जना पुरुष र ११ हजार ६ सय ८० जना महिला रहेका छन् । सार्क राष्ट्रबाट ४ हजार ९ सय पुरुष र ३ हजार ६ सय ४९ महिला छन् भने अन्य राष्ट्रबाट ८ सय ३४ पुरुष र ५ सय ४९ महिलाले मुस्ताङको भ्रमण गरेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)