विश्रान्ति वृद्धाश्रममा देउसीभैलोको रौनकः ज्येष्ठ नागरिकको मुहारमा खुसी
khabarhub.com · Tue Nov 10 10:33:18 UTC 2026

धनकुटा- छेउमै निरन्तर सुसाइरहने तमोर नदी । नजिकै छ विश्रान्ति वृद्धाश्रम । जीवनको उत्तराद्र्धमा परिवार र आफन्तबाट टाढिएर बस्न बाध्य ज्येष्ठ नागरिकका लागि चाडपर्वका खुसीहरु प्रायः सम्झनामै सीमित हुने गर्छन् । यद्यपि यस वर्षको तिहारमा भने धनकुटाको मुलघाटस्थित विश्रान्ति वृद्धाश्रममा फरक रौनक छायो । धनकुटा नगरपालिका वडा नं ९ मुलघाटस्थित वृद्धाश्रममा बाजागाजासहित पुगेको कलाकार टोलीले देउसीभैलो, गीत तथा नृत्य प्रस्तुत गर्दै त्यहाँ आश्रित ३६ जना ज्येष्ठ नागरिकलाई खुसी बाँडेका छन् ।
कलाकारहरूको गीत र सङ्गीतमा वृद्धाश्रमका ज्येष्ठ नागरिक पनि रमाउँदै नाचेका थिए । केहीका आँखा रसाए, केहीका ओठमा मुस्कान छायो । वरिष्ठ लोकगायक तुलसी पराजुलीको नेतृत्वमा २० जना कलाकार वृद्धाश्रम पुगेका थिए । टोलीमा ७६ वर्षीया गायिका टीकादेवी पराजुलीसहित मेघराज घिमिरे, दुर्गा पराजुली, नगेन्द्र कटुवाल, मेखराज कार्की, रमेश अधिकारी र तारा ढकाललगायत कलाकार सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)