मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक मर्मतपछि उपल्लो मुस्ताङमा आवागमन सहज

gorkhapatraonline.com · Tue Nov 10 10:36:17 UTC 2026

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत कोरला–छुसाङ सडकखण्डमा बाढीले क्षति पुर्‍याएको सडक मर्मत गरिएपछि सवारी आवागमन सहज भएको छ । करिब ८८ किलोमिटर कोरला–छुसाङ सडकखण्ड अन्तरगत वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, समरमा सडक मुनिको कल्भर्ट मर्र्मत तथा चैलेमा सडक मर्मत गरिएको हो । सडकखण्ड अन्तर्गत वारागुङ मुक्तिक्षेत्र र लो–घेकर, लोमान्थाङका गाउँपालिका हुदै समुद्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाकासम्म पुग्ने पर्यटक तथा सामान ढुवानीका कन्टेरनलाई सहज भएको छ । मर्मत गरिएको सडक उपल्लो मुस्ताङको प्रवेशद्धार मानिन्छ ।

सडकखण्ड अन्तर्गत ठाडो खोलामा आउने बाढीले अवरुद्ध गर्ने गरेकोमा स्थानीय जनप्रतिनिधिसहित आयोजनामार्फत मर्मत गरिएको आयोजना प्रमुख तेजस्वी शर्माले बताउनुभयो । आयोजना प्रमुख शर्माले भन्नुभयो,‘‘प्राकृतिक विपत्तीका कारण क्षति भएको सडकको अस्थायी मर्मत गरी सञ्चालनमा ल्याइएको छ, उपल्लो मुस्ताङमा भलबाढीले सडक अवरुद्ध हुने गरेको छ ।’’ लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले समरको कल्भर्ट मर्मत गरेपछि तत्काललाई समस्या समाधान भएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)