भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
gorkhapatraonline.com · Tue Nov 10 15:34:25 UTC 2026

नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मियताको प्रतीकका रूपमा मनाइने किजा पूजा अर्थात् भाइटीका आज भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ । स्वन्ति नखाःअन्तर्गत लक्ष्मी पूजा, म्हः पूजा र किजा पूजा क्रमशः कात्तिक २२, २३ र २४ गते मनाउने निर्णयअनुसार आज किजापुजा (भाइटीका) मनाइएको हो ।
किजा पूजा विशेषगरी दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुखसमृद्धिको कामना गर्दै पूजा गर्ने पर्व हो । यसलाई नेवार समुदायमा भाइटीकाका रूपमा पनि चिनिन्छ । म्हः पूजाको भोलिपल्ट मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको घरमा पुगी विशेष विधिपूर्वक पूजा गर्ने परम्परा छ । किजा पूजाका दिन दिदीबहिनीले पहिले भुइँमा रातो माटो वा लिपन गरी चामलको पीठोबाट मण्डल बनाउँछन् । उक्त मण्डलमा दाजुभाइलाई राखेर पूजा गर्ने परम्परा छ । पूजा गर्दा दाजुभाइको वरिपरि तेलको घेरा बनाउने, बत्ती बाल्ने तथा विभिन्न पूजासामग्री चढाउने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)