मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नियम उल्लंघन गर्ने रास्वपा सांसद श्रेष्ठको सवारीलाई ट्राफिक जरिवाना

annapurnapost.com · Tue Nov 10 15:17:48 UTC 2026

धादिङ : जेब्रा क्रसिङमै सवारीसाधन पार्किङ गरेर ट्राफिक नियम उल्लङ्घन गर्ने धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको सवारीसाधनलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ। सांसद श्रेष्ठले प्रयोग गर्ने बागमती प्रदेश ०१–०२७ विएवि १३९३ नम्बरको सवारीसाधन धादिङबेसीको बीचबजार चोकस्थित जेब्रा क्रसिङमा पार्किङ गरिएको तस्बिरसहितको समाचार सार्वजनिक भएपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख शिशिर थापाका अनुसार ट्राफिक नियम उल्लङ्घन गरेबापत अनलाइन प्रणालीमार्फत जरिवाना निर्धारण गरिएको छ। नियम उल्लङ्घनको प्रकृति हेरी प्रणालीले ५०० देखि १ हजार ५०० रुपैयाँसम्म जरिवाना निर्धारण गर्न सक्ने उनले बताए। ‘अनलाइन प्रणालीमा जति जरिवाना देखिन्छ, त्यति नै भुक्तानी गर्नुपर्छ। भुक्तानी गर्ने क्रममा सिस्टमले नै रकम निर्धारण गर्छ,’ थापाले भने। सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि गजुरीबाट जरिवानाको प्रक्रिया अघि बढाइएको पनि उनले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)