अन्तिम संस्कारसमेत खोसिएको त्यो क्रूर अपराधः दोषी ठहरियो नरेश भट्ट
reportersnepal.com · Thu Nov 12 07:48:56 UTC 2026

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित अदालतमा केही दिनअघि सुनिएको एउटा अन्तिम बहसले संसारभर छरिएका नेपाली समुदायलाई स्तब्ध बनायो। दुई वर्षभन्दा लामो प्रतीक्षा, अथक खोजी र अनगिन्ती आशंकाबीच चलेको ममता काफ्ले हत्या मुद्दाले अन्ततः एक निर्णायक मोड लिएको छ। अदालतले उनका श्रीमान् नरेश भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अपमान गरेको तीनवटै अभियोगमा दोषी ठहर गरेको छ। तर, यो अदालती फैसलाको पछाडि एउटी नारीले भोगेको मौन यातना, अपराधको क्रूरता र न्यायका लागि परिवारले गरेको असह्य पीडाको लामो कथा लुकेको छ।
अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेका तथ्यहरूले एउटा भयानक यथार्थ बाहिर ल्याए। ममताले आफ्ना श्रीमानलाई घरमा ‘राजा’ सम्बोधन गर्ने गरेकी थिइन्। तर, सरकारी वकिल सारा सामीको मार्मिक शब्दमा भन्दा– त्यो घर कुनै प्रेम र सुरक्षाको छहारी थिएन, बरु नरेशको ‘यातनाको साम्राज्य’ थियो जहाँ उनी राजा बनेर शासन गर्दथे। ममताको फोन प्रयोगमा प्रतिबन्ध, आर्थिक पहुँचमा एकाधिकार र सवारीसाधनको उपयोगमा लगाइएको अंकुशले उनको वैवाहिक जीवनलाई स्वेच्छाचारी नियन्त्रण र निरन्तरको मनोवैज्ञानिक त्रासको बन्दीगृह बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)