मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिम रोयल्स प्लेअफमा

emountaintv.com · Fri Nov 13 10:48:28 UTC 2026

काठमाडौँ ।

उत्कृष्ट बलिङ लय कायम राख्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पाँचौं खेलमा जित निकाल्दै प्लेअफमा पुगेको छ । कीर्तिपुरमा शुक्रवार भएको लिगको आफ्नो अन्तिम तथा सातौं खेलमा सुदूरपश्चिमले काठमाण्डु गोर्खाजमाथि ७ रनको जित निकाल्दै प्लेअफमा स्थान बनायो । प्लेअफमा पुग्न जित्नैपर्ने खेलमा सुदूरपश्चिमले उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै रोमाञ्चक जित रचेको हो । त्रिवि क्रिकेट स्टेडियममा सुदूरपश्चिमले १२६ रनको सामान्य लक्ष्य दिएको थियो । तर बलिङमा उत्कृष्ट लय जारी राखेपछि सुदूरपश्चिम यो लक्ष्य जोगाउन सफल भयो । काठमाण्डुले पूरै ओभरमा सात विकेट गुमाउँदै ११८ रन मात्र जोढ्न सक्यो । अघिल्लो खेलमा पनि सुदूरपश्चिमले जनकपुर बोल्ट्सविरुद्ध १२० रनको लक्ष्य रक्षा गरेको थियो । लगातार दोस्रो खेलमा उत्कृष्ट फिल्डिङ गरेपछि सुदूरपश्चिमले अन्तिम बलमार्पmत जित रच्यो । सात खेलबाट सुदूरपश्चिम १० अंकसहित शिर्ष स्थानमा पुग्यो । साथै दुई संस्करणको उपविजेता सुदूरपश्चिमले पहिलो क्वालिफायरको पनि दाबेदारी दिएको छ । छैटौं खेलमा पराजित भएपछि काठमाण्डुमाथि भने दबाब परेको छ । लुम्बिनी यसअघि नै प्लेअफमा पुगिसकेको छ । अब प्लेअफका लागि दुई स्थान बाँकी छ । त्यसमा काठमाण्डुसहित विराटनगर किङ्स र चितवन राइनोज दाबेदारमा छन् । विराटनगर र काठमाण्डुको समान एक खेल बाँकी छ भने चितवनले दुई खेल खेल्न बाँकी छ । एउटा खेल चितवनले अहिले साँझ जनकपुर बोल्ट्ससँग खेल्दैछ । यो खेल जित्दा काठमाण्डु र विराटनगरमाथि दबाब बढ्नेछ । काठमाण्डु र विराटनगरको समान ८ अंक छ । चितवनको भने पाँच अंक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)