मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बजेट अभावबीच दशौँ राष्ट्रिय खेलकुदमा मधेसका ७०९ खेलाडी सहभागी हुने

emountaintv.com · Fri Nov 13 11:50:15 UTC 2026

काठमाडौँ ।

कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशले आजदेखि प्रदेशस्तरीय छनोट प्रक्रिया शुरु गरेको छ । प्रतियोगितामा सहभागी हुने ३२ खेल विधिमध्ये मधेस प्रदेशले २९ विधामा सहभागिता जनाउने भएको छ । मधेस प्रदेशका खेलाडी, प्रशिक्षक, निर्णायक तथा व्यवस्थापक गरी ७०९ जनाको टोली प्रतियोगितामा सहभागी हुने मधेस प्रदेशका खेलकुद परिषद् सदस्यसचिव शिवजीप्रसाद कानूले जानकारी दिनुभयो । प्रतियोगिताको औपचारिक सुरुवात केही विधामा मंसिर ८ गतेदेखि हुने र मुख्य प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने तयारी छ । पत्रकार सम्मेलनमा प्रदेशका खेलकुद पदाधिकारीले बजेट अभाव र प्रदेश सरकारको अस्थिरताका कारण तयारीमा चुनौती थपिएको बताउनु भयो । बजेटको ५० प्रतिशत रोक्का तथा कटौती गरिएको अवस्थामा सीमित स्रोतसाधनबाट धेरै काम गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । कठिनाइका बाबजुद खेलाडीको उत्साह र विभिन्न खेल सङ्घसँगको समन्वयमा छनोट प्रक्रिया अघि बढाइएको बताउनु भयो । मधेस प्रदेशमा कबड्डी, भलिबल, कराँते, तेक्वान्दो र क्रिकेटलगायतका खेलमा पदक जित्ने राम्रो सम्भावना रहेको उहाँको दाबी छ । विशेषगरी प्रदेशको मौलिक खेलका रूपमा रहेको कुस्तीमा मधेसले राष्ट्रियस्तरमै उल्लेखनीय सफलता हासिल गर्न सक्ने बताउनु भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)