मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री गुरुङ युएई भ्रमणमा

annapurnapost.com · Fri Nov 13 12:41:11 UTC 2026

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन्। दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गुरुङ आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका छन्। सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यास आदानप्रदान प्राथमिकतामा रहने गरेको छ।

गृह मन्त्रालयका अनुसार सम्मेलनमा उच्चस्तरमा नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, उच्चस्तरीय राउण्ड टेबल मिटिङ, कार्यशाला तथा तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी, विश्व प्रहरी पुरस्कार लगायतका गतिविधि हुनेछन्। सम्मेलनको यस संस्करणमा रक्षा तथा संकट प्रतिकार्य, स्वचालित रोबोट, ड्रोन तथा मानवीय क्षमता; कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा तथा डिजिटल रूपान्तरण; साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण; क्रिप्टो कारोबार तथा वित्तीय अपराध नियन्त्रण; अपराध अनुसन्धान, गुप्तचर सूचना तथा आधुनिक फरेन्सिक प्रविधि; लागुऔषध तथा संगठित अपराध नियन्त्रण; सीमा सुरक्षा तथा स्मार्ट सुरक्षा प्रणाली; भू-उपग्रह सूचना तथा अन्तरिक्ष सुरक्षा लगायतका १४ विषयगत क्षेत्रहरू समेटिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)