मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोठमा गोरु नहुँदा खल्लो बन्यो पूजा

gorkhapatraonline.com · Fri Nov 13 23:46:39 UTC 2026

कुनै समय सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका रामकाजी श्रेष्ठको घरमा दुई हल गोरु थिए । ठुलो खेतीपाती भएकाले एक हल बेँसीमा र अर्को हल गाउँको गोठमा बाँधिन्थे । खेतबारी जोत्न गोरुकै भर पर्नुपर्ने त्यो समय अहिले उहाँका लागि मिठो सम्झना मात्र बनेको छ । खेतका गह्रामा ट्याक्टर र आधुनिक कृषि उपकरण भित्रिएसँगै गाउँमा गोरु पाल्ने चलन हराउँदै गयो । यसैको परिणामस्वरूप यस वर्ष यमपञ्चकको चौथो दिन गोरुतिहारमा पूजा गर्न रामकाजीले गाउँभरि चहार्दा कतै गोरु भेट्नुभएन ।

नुवाकोटको दुप्चेश्वरका बलराम खतिवडाको गाउँमा पनि पहिले हरेक जसो गोठमा हलगोरु बाँधिएका हुन्थे । त्यतिबेला गाउँमा कसको गोठमा कति गोरु छन् भन्ने कुराले परिवारको सम्पन्नता र समृद्धिको मापन गथ्र्यो । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–८, धाइटारका ९२ वर्षीय रामप्रसाद पौडेलका गोरुको चर्चा छिमेकी जिल्ला सिन्धुपाल्चोकसम्मै हुने गथ्र्यो । उहाँले घरका गोरुको छुट्टाछुट्टै नाम राख्नुभएको थियो । उहाँले गोरुलाई परिवारका सदस्य सरह पाल्नुहुन्थ्यो तर अहिले पौडेलको गोठ रित्तो छ । विगत केही वर्षयताका तिहारमा उहाँले आफ्नो गोठमा गोरु पूजा गर्न पाउनुभएको छैन ।रामकाजी, बलराम र रामप्रसादको यो भोगाइ आधुनिकतातर्फ लम्किरहेको नेपाली ग्रामीण समाजको प्रतिनिधि चित्र हो । साहित्यकार प्रदीप सापकोटा गोरुको घट्दो उपस्थितिसँगै हाम्रो मौलिक कृषि संस्कृति सङ्कटमा पर्न थालेको बताउनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)