सबैको पर्व बन्दै छठ
gorkhapatraonline.com · Sun Nov 15 03:10:47 UTC 2026

सूर्यबिना जीव, जगत् र वनस्पतिको कल्पनासम्म पनि गर्न सकिँदैन । जीवनको मुख्य आधार नै सूर्य हो । सूर्यसँगै जीवन, जगत्, प्रकृति र वनस्पति गाँसिएको छ । यही सत्यलाई आत्मसात् गर्दै हाम्रा पुर्खाले सूर्यलाई भगवान्का रूपमा पूजा गर्न थालेका हुन् । सूर्यको ताप र प्रकाशले पृथ्वीमा जीवन सम्भव भएको हो । सूर्यलाई जल वा दुधको अर्घ दिँदा ‘एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते । अनुकम्पय मां भक्त्या गृहाणाघ्र्यं दिवाकर ।।’ मन्त्रोच्चारण गरिन्छ । यसको अर्थ ‘हे हजारौँ किरण भएका, तेजका पुञ्ज र जगत्का स्वामी सूर्यदेव ! ममाथि कृपा गर्नुहोस् र भक्तिपूर्वक मैले चढाएको यो अर्घ स्वीकार गर्नुहोस् ।’ भन्ने हो । नेपाली समाजमा सूर्यको दैनिक पूजा हुन्छ । यसलाई कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिनमा विशेष गरी छठपर्वका रूपमा मनाइन्छ । यसमा सूर्यका साथै छठीमाता (षष्ठी देवी) को पनि पूजा गरिन्छ । छठीमाताको ‘ॐ ह्रीं षष्ठी देव्यै स्वाहा’ भनी सङ्कल्प गर्दै सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । समग्रमा भने यो पर्व चार दिन कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । यो पर्व धार्मिक अनुष्ठान मात्र होइन; प्रकृति, श्रम र मानव जीवनबिचको गहिरो सम्बन्ध उजागर गर्ने सांस्कृतिक उत्सव पनि हो ।
पहिले मूलतः यो पर्व नेपालको तराई मधेशको मौलिक पहिचानका रूपमा परिचित थियो । आधुनिकतासँगै छठपर्व अहिले हिमाल, पहाड र तराईलाई जोड्ने राष्ट्रिय पर्व बनेको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पनि छठपर्व भव्य र सभ्य रूपमा मनाउन थालिएको छ । यति मात्र होइन विश्वभर छरिएर रहेका नेपालीले पनि यस पर्वलाई आत्मसात् गरी मनाउन थालेका छन् । छठपर्वमा आत्मशुद्धिका साथै खोला, नदी, तलाउ र पोखरीको सरसफाइ महत्वपूर्ण विशेषता हो । छठको रौनकले नेपाली समाजको समावेशी चरित्र र सांस्कृतिक सहिष्णुतालाई अझ बलियो बनाएको छ । छठपर्वको सबैभन्दा विशिष्ट पक्ष यसको समतामूलक दर्शन हो । यस पर्वमा कुनै पुरोहित वा बिचौलियाको आवश्यकता पर्दैन । भक्तजन स्वयम्ले सूर्यदेव र छठीमाताको प्रत्यक्ष आराधना गर्छन् । समाजका हरेक वर्ग, जातजाति र समुदायका मानिस एउटै नदी, खोला, पोखरी वा तलाउको घाटमा उभिएर षष्ठीको बेलुका अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्छन् । धनी र गरिबबिचको भेदभाव मेटिने यो पर्वले सामाजिक न्याय र समानताको व्यावहारिक सन्देश दिन्छ । सामान्यतया उदाउँदो सूर्यलाई मात्र पूजा गर्ने प्रचलन छ तर छठ यस्तो अद्वितीय पर्व हो, जसमा अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धाका साथ अर्घ दिइन्छ । यसले जीवनका उतारचढावलाई समान रूपमा स्वीकार गर्नुपर्ने र अस्ताउनेको सम्मानबिना उदाउनेको अस्तित्व सम्भव नहुने गहन दर्शन र आदर्श स्विकारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)