मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ मा शहरी उत्थानशीलता र जलवायु लगानीलाई प्राथमिकता

emountaintv.com · Sun Nov 15 05:26:30 UTC 2026

जलवायु परिवर्तनका असरबाट शहर तथा समुदायलाई सुरक्षित राख्ने, ऊर्जा दक्ष भवन निर्माण गर्ने र जलवायु अनुकूलनमा लगानी बढाउने विषय संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) मा प्राथमिकताका साथ उठाइएको छ । टर्कीको तटीय शहर अन्टाल्यामा जारी सम्मेलनअन्तर्गत बिहीवार शहरी उत्थानशीलता, अनुकूलन तथा जलवायु कार्यसम्बन्धी उच्चस्तरीय संवाद आयोजना गरिएको थियो । टर्कीको कोप–३१ अध्यक्षता र संयुक्त राष्ट्रसंघीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट) ले संयुक्त रूपमा आयोजना गरेको उक्त संवादमा राष्ट्रिय जलवायु प्रतिवद्धता र अनुकूलन योजनालाई सहर तथा समुदायमा प्रत्यक्ष लगानीका रूपमा कार्यान्वयन गर्ने उपायबारे छलफल भएको थियो । कार्यक्रममा सहभागी प्रतिनिधिहरूले जलवायु परिवर्तनको जोखिम न्युनिकरणका लागि सुरक्षित आवास, व्यवस्थित शहरी विकास, पूर्वाधारको सुदृढीकरण र समुदायको अनुकूलन क्षमता बढाउनुपर्नेमा जोड दिएका थिए । यूएन–ह्याबिट्याटकी कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसंघकी उपमहासचिव अनाक्लाउडिया रोसबाकले विभिन्न देशले जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण प्रतिवद्धता जनाइसकेको उल्लेख गर्दै अब त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने समय आएको बताइन् । उनले दिगो र समावेशी भविष्य निर्माणका लागि पर्याप्त आवासको व्यवस्था, अव्यवस्थित बस्ती तथा झुपडी क्षेत्रको रूपान्तरण र शहरी उत्थानशीलता सुदृढीकरणलाई जलवायु कार्यको केन्द्रमा राख्नुपर्ने बताइन् ।

कोप–३१ का अध्यक्ष तथा टर्कीका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले जलवायु कार्यले समुदायलाई सुरक्षित बनाउनुका साथै घरहरूलाई ऊर्जा दक्ष, पूर्वाधारलाई बलियो र जलवायु परिवर्तनका असरविरुद्ध प्रतिरोधी बनाउनुपर्ने बताए । सम्मेलनमा सहरी उत्थानशीलतासँगै ऊर्जा दक्ष भवन निर्माणसम्बन्धी ‘अन्टाल्या कम्प्याक्ट’ लाई पनि सहभागी देशहरूले स्वागत गरेका छन् । कोप–३१ अध्यक्षताको पहलमा अघि सारिएको यस सम्झौताले भवन क्षेत्रमा ऊर्जा खपत घटाउने र विद्युतीकरणलाई तीव्रता दिने लक्ष्य राखेको छ । यस पहलअन्तर्गत सन् २०३५ सम्म विश्वभरका भवनहरूको सञ्चालनमा प्रयोग हुने ऊर्जाको तिब्रता २५ प्रतिशतले घटाउने तथा भवनहरूमा ऊर्जा दक्ष विद्युतीकरणलाई तीव्र बनाउने दुईवटा विश्वव्यापी लक्ष्य अघि सारिएका छन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) की कार्यकारी निर्देशक इङ्गर एन्डरसनले ऊर्जा दक्ष तथा जलवायु प्रतिरोधी भवनलाई विश्वव्यापी मापदण्डका रूपमा स्थापित गर्न उक्त सम्झौता महत्वपूर्ण कदम भएको बताइन् । उनले प्रतिबद्धतालाई प्रभावकारी नीति, लगानी र कार्यान्वयनयोग्य योजनामा रूपान्तरण गर्न सरकारहरूलाई आग्रह गरिन्। भवन क्षेत्रमा ऊर्जा दक्षता बढाउँदा कार्बन उत्सर्जन र ऊर्जा खर्च दुवै घटाउन सकिने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)