कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो - चेम्बर अध्यक्ष अग्रवाल
arthasansar.com · Mon Nov 16 10:39:59 UTC 2026

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदा संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता तथा आर्थिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । हस्तकला महासंघका पूर्व अध्यक्ष ईन्द्र बहादुर शाक्य वंशद्वारा लिखित नेपालको कला, संस्कृति, चाडपर्व,जात्रा र सम्पदाहरुको संग्रह नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले संस्कृति कुनै पनि राष्ट्रको पहिचान र सभ्यताको जीवन्त दस्तावेज भएको बताएका हुन् ।
उनले यस्ता विषयमा अनुसन्धान, अभिलेखीकरण र वैज्ञानिक अध्ययनमार्फत भावी पुस्ताका लागि ज्ञान हस्तान्तरण गर्नु आवश्यक रहेको बताए । काठमाडौं उपत्यकाका जात्रा तथा पर्वहरू प्राचीन सभ्यता, धार्मिक आस्था, सामुदायिक एकता, सामाजिक संगठन र परम्परागत सीप तथा शिल्पकलाका महत्वपूर्ण परिचायक रहेको उनको भनाइ थियो। यस्ता मौलिक परम्पराले समाजलाई एकताबद्ध बनाउनुका साथै नेपालको विशिष्ट सांस्कृतिक पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न योगदान पु¥याएको उनले बताए । अध्यक्ष अग्रवालले तीव्र सहरीकरण, अव्यवस्थित विकास, जलवायु परिवर्तन, भूकम्प, आगलागी तथा वातावरणीय प्रदूषणका कारण नेपालको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदामाथि चुनौती थपिँदै गएको उल्लेख गरे। परम्परागत बस्ती, मठमन्दिर, पाटी, पोखरी तथा ऐतिहासिक संरचनाको संरक्षणका लागि स्पष्ट सरकारी नीति, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)