मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

२८ वर्षपछि लागू भयो मासु जाँच ऐन, अबको चुनौती के ?

kendrabindu.com · Tue Nov 17 13:25:08 UTC 2026

काठमाडौं । झन्डै २८ वर्षदेखि कागजमै सीमित रहेको ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका २१ वटै स्थानीय तहमा लागू भएको ऐनले मासुको उत्पादन, वध, प्रशोधन, ढुवानी र बिक्रीवितरणलाई कानुनी दायरामा ल्याउने अपेक्षा गरिएको छ । तर, पर्याप्त वधशाला अभाव, परम्परागत व्यवसायलाई नयाँ मापदण्डमा रूपान्तरण, सुरक्षित ढुवानी र तीन तहका सरकारबीच समन्वय यसको कार्यान्वयनका चुनौती पनि कम छैनन् ।

नयाँ व्यवस्थाअनुसार पशुपन्छी वध गर्नुअघि स्वास्थ्य परीक्षण र वधपछि मासुको स्वच्छता परीक्षण गरी आधिकारिक छाप लगाएपछि मात्रै बिक्री गर्न पाइनेछ । वधशाला तथा मासु पसल सञ्चालन गर्न इजाजतपत्र अनिवार्य गरिएको छ । रोगी वा मरेका पशुपन्छीको मासु बिक्री गर्न तथा मासुमा मिसावट गर्नसमेत प्रतिबन्ध लगाइएको छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार ऐन कार्यान्वयनका लागि उपत्यकामा २४० जना मासु निरीक्षक परिचालन गरिएको छ । हाल पाँचवटा वधशालाबाट परीक्षण तथा छाप लगाउने व्यवस्था सुरु गरिएको छ । पर्याप्त वधशाला नभएका स्थानमा स्थानीय तहसँगको समन्वयमा हाल सञ्चालनमा रहेका संरचनालाई सुधार गरी वधस्थल तोक्ने सरकारको योजना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)