रैथाने आलुको माग बढ्दो, माग अनुसार बढ्न सकेन खेती
gorkhapatraonline.com · Wed Nov 18 01:20:44 UTC 2026

बजारमा रैथाने आलु (थारू आलु) को माग बढ्न थालेपछि दाङका किसान पनि यसको खेती विस्तारमा जुटेका छन् । उपभोक्ताले विकासे आलुभन्दा रैथाने थारू आलु बढी रुचाउन थालेपछि यसको खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो ।
थारू समुदायले पुस्तौँदेखि परम्परागत रूपमा खेती गर्दै आएको थारू आलु आफ्नै स्वाद र मौलिक विशेषताका कारण बजारमा परिचित हुन थालेको छ । उपभोक्ताको माग बढ्दै गए पनि माग अनुसार उत्पादन हुन नसकेको कृषि क्षेत्रका अधिकारी बताउँछन् । यही सम्भावनालाई ध्यानमा राखेर प्रदेश सरकारले पनि थारू आलुको संरक्षण, प्रवर्धन र उत्पादन विस्तारलाई प्राथमिकता दिएको छ । लुम्बिनी प्रदेश सरकारले गत वर्षदेखि रैथाने आलु (थारू आलु) को खेती प्रवर्धनका लागि किसानलाई सहयोग गर्दै आएको छ । प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दाङ, बाँके र बर्दियामा स्थानीय सरकारमार्फत खेती विस्तार, प्रवर्धन र प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिरहेको छ । मन्त्रालयका प्रवक्ता एवं योजना तथा अनुगमन महाशाखाका कृषि अर्थ निर्देशक हरिप्रसाद पण्डितले थारू आलुको प्रवर्धनका लागि वार्षिक कार्यक्रम अन्तर्गत तीन जिल्लामा प्रतिजिल्ला पाँच लाख रुपियाँका दरले सहयोग गर्दै आएको बताउनुभयो । स्थानीय सरकारमार्फत रैथाने आलुको खेती विस्तार र प्रचारप्रसारका लागि सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)