कूटनीतिक इतिहासको दुर्लभ मोड: सहअस्तित्व र भाइचारातर्फ विश्वशक्ति
nepalsamaya.com · Fri Nov 20 02:04:00 UTC 2026

सन् २०२६ नोभेम्बर १८ मा चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग संगठन (एपीइसी)को आर्थिक नेताहरूको बैठकले विश्व कूटनीतिमा एउटा असाधारण दृश्य प्रस्तुत गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ आफैँ विमानस्थलमा उपस्थित भएर उनको स्वागत गर्नु सामान्य औपचारिकताभन्दा माथिको कूटनीतिक संकेत थियो। सी जिनपिङले कुनै विदेशी राष्ट्रप्रमुखलाई चीनको विमानस्थलमा यसरी व्यक्तिगत रूपमा स्वागत गरेको यो पहिलो अवसर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यसअघि सन् २०२६ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अमेरिकाको विमानस्थलमा सी जिनपिङलाई स्वागत गरेका थिए। यसरी पारस्परिक सम्मानको कूटनीतिक अभ्यासले विश्वका दुई प्रतिस्पर्धी शक्तिबीच सम्बन्ध सुधारको सम्भावनालाई नयाँ ढङ्गले उजागर गरेको छ ।
यसै सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उपस्थिति र ट्रम्पसँगको हात मिलाइले पनि विश्वको ध्यान आकर्षित गरेको छ। चीन, अमेरिका र रुसका राष्ट्रप्रमुखहरू एउटै अन्तर्राष्ट्रिय मञ्चमा उपस्थित भएर आपसी संवाद र विश्वव्यवस्थाका विषयमा छलफल गर्ने वातावरण बन्नु आफैँमा महत्त्वपूर्ण घटना हो। तीनै नेताको संयुक्त उपस्थितिले अन्तर्राष्ट्रिय राजनीतिमा संवादको आवश्यकता र कूटनीतिक सहअस्तित्वको सम्भावनालाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ। तर यस घटनालाई केवल तीन नेताबीचको आत्मीयता वा व्यक्तिगत मित्रताको दृश्यका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यसको वास्तविक महत्त्व विश्व राजनीतिमा बढ्दै गएको तनाव, आर्थिक प्रतिस्पर्धा, सैन्य शक्ति विस्तार र प्रविधिमाथिको नियन्त्रणको होडका बीच पनि संवादको ढोका खुला रहनुमा छ। शक्ति राष्ट्रहरूबीचको सम्बन्ध केवल अविश्वास र टकरावमा आधारित रहनुपर्छ भन्ने छैन भन्ने सन्देश यसले दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)