मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हिजाब नलगाई गीत गाएको भन्दै इरानी अधिकारीद्वारा गायिकालाई कोर्रा प्रहार

bishowkhabar.com · Tue Nov 24 02:09:51 UTC 2026

काठमाडौं – अनिवार्य हिजाब नलगाई सार्वजनिक कार्यक्रममा गीत गाएकी चर्चित गायिका र उनको ब्यान्ड तथा निर्माण टोलीका चार सदस्यलाई इरानी अधिकारीहरूले कोर्रा प्रहार गरेका छन् । गायिका परस्तु अहमदी, तीन जना सङ्गीतकर्मी र एक जना निर्माता गरी पाँच जनालाई इरानको कोम सहरमा जनही ७४ कोर्रा हानिएको उनीहरूको प्रतिरक्षा टोलीका एक सदस्यले बताएका छन् । २९ बर्सिया अहमदीले सन् २०२४ डिसेम्बरमा प्रत्यक्ष प्रसारण गरिएको एक साङ्गीतिक कार्यक्रममा बिना बाहुलाको पोसाक लगाएर प्रस्तुति दिएकी थिइन् । इरानको कानुनले महिलालाई सार्वजनिक रूपमा साङ्गीतिक प्रस्तुति दिन प्रतिबन्ध लगाउनुका साथै हिजाब र शालीन पोसाक अनिवार्य गरेको छ ।

यसै वर्ष जुन महिनामा कोमस्थित फौजदारी अदालतले अहमदीसहित अन्य आठ जनालाई ‘सार्वजनिक शिष्टाचारमा खलल पुर्‍याएको’ अभियोगमा दोषी ठहर गरेको थियो । उनीहरूमाथि ‘अश्लील र अभद्र सामग्री’ प्रकाशन गरेको आरोप लगाइएको थियो । उनीहरूले उक्त आरोप अस्वीकार गरेका थिए । अदालतले ७४ कोर्रा हान्ने सजाय सुनाउनुका साथै उनीहरूलाई दुई वर्षसम्म श्रव्य दृश्यसम्बन्धी गतिविधिमा संलग्न हुन र देश छाड्न प्रतिबन्ध लगाएको थियो । सेप्टेम्बरको अन्त्यमा कोमस्थित पुनरावेदन अदालतले प्रतिवादीहरूको पुनरावेदन अस्वीकार गर्दै यसअघिको सजायलाई सदर गरेको उनीहरूका वकिलहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)