हावाहुरीका कारण मुस्ताङमा विद्युत् सेवा अवरुद्ध
gorkhapatraonline.com · Tue Nov 24 12:14:18 UTC 2026

लगातारको हावाहुरीका कारण मुस्ताङमा विद्युत् सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक खण्डमा रहेका विद्युतको पोल र तार चुडिँदा मङ्गलबार बिहानदेखि अन्धकार बनेको छ । हावाहुरीका कारण जिल्लाका पाँचवटै स्थानीय तहमा विद्युत आपूर्ति बन्द भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले बताउनुभयो । प्रजिअ पोख्रेलले भन्नुभयो, “तीव्र बेगको हावाहुरीले केही घरको छाना उडाएको छ, सडकखण्डमा यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।’’
प्रजिअ पोख्रेलका अनुसार बेनी–जोमसोम सडकखण्ड अन्तर्गत दाना–घाँसा खण्डमा अत्याधिक हावाहुरीका कारण सडकमाथिबाट ढुङ्गा खस्ने जोखिम रहेकाले प्रहरीमार्फत सवारी साधनमा यात्रा गर्ने यात्रुलाई समेत सचेत बनाइएको छ । हावाहुरीले घाँसा प्रहरी चौकीमाथिबाट खसेको ढुंगाले समान्य क्षति पुगेको जनाइएको छ । हावाहुरीको क्षति सङ्कलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)