मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसँग माफी माग्दै विपिन आचार्यले भने, तपाईँहरूले दुःख पाउनुभयो, हामी लज्जित छौँ

barnanmedia.com · Thu Jun 25 00:56:57 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीमा निवर्तमान सहमहामन्त्री तथा अहिले केन्द्रीय सदस्यका उम्मेदार विपिन आचार्यले पूर्वानिर्धारित समयमा पार्टीको महाधिवेशन पूरा गर्न नसकेको भन्दै सबै प्रतिनिधिहरुसँग माफी मागेका छन् ।

महाधिवेशनको आन्तरिक व्यवस्थापन र निर्वाचनका विषयमा भइरहेको ढिलाइबारे चर्को आलोचना भइरहेका बेला पार्टीको संस्थापक नेतामध्येका आचार्यले असारको महत्वपूर्ण समयमा सब्र प्रतिनिधिहरुलाई रोक्नुपरेकोमा आफस्हरुलाई लज्जित बनाएको भन्दै गल्ती स्वीकार गरेका छन् ।

‘सामान्य अवस्थामा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र निर्वाचित पदाधिकारी चयन गरेर यो पहिलो ऐतिहासिक महाधिवेशनमा सहभागी हुने सम्पूर्ण प्रतिनिधिहरू आफ्नो घर गइसक्नुपर्ने थियो । ‌तर हाम्रो कारणले तपाईँहरू अहिलेसम्म पनि चितवनमै हुनुहुन्छ। नेतृत्वका रूपमा हामीले हजुरहरूलाई यति धेरै दुःख दिँदादिँदै पनि तपाईंहरुले देखाउनुभएको सहनशीलताप्रति नमन गर्दछौँ’, उनले भनेका छन्, ‘मानो रोपेर मुरी फलाउने यो समयमा तपाईँ सबैले मिहिनेतले कमाएको पैसाको दुरुपयोग हुँदा हामी लज्जित छौँ । तपाईँहरू सबैसँग यसका लागि माफी माग्दछौँ ।’

आचार्यले माफी माग्दै अबको केही घण्टामा सुरु हुने मतदान प्रक्रियामा सहभागी हुनका लागि अपिल गर्दै भनेका छन्, ‘यति धेरै समय कुर्नुभएको छ केही घण्टा कुरेर राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व छान्ने प्रक्रियामा आफ्नो अमूल्य मत दिनका लागि चितवन नछोडिदिनुहोला । हामी हाम्रा गल्तीहरूबाट भविष्यमा पाठ सिक्नेछौँ । धैर्यताका लागि फेरि पनि नमन। तपाईँहरू सबैजनाको राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको माया गज्जब छ।’

महाधिवेशनमा ढिलाइ भएको भन्दै केही प्रतिनिधिले आफूहरुले चितवन छाड्न लागेको सूचना पार्टीलाई दिएसँगै आचार्यले यस्तो अपील गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)