मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उकासियो चितवनको अर्थतन्त्र

gorkhapatraonline.com · Thu Jun 25 01:07:47 GMT 2026

। चितवनको पर्यटन तथा होटेल व्यवसायका लागि असार सुस्त मानिन्छ । यस वर्षको असार भने फरक रह्यो । फरक मात्र रहेन चितवनको अर्थतन्त्र नै अप्रत्याशित चलायमान भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनले चितवनको पर्यटनमा ताजगी ल्याएको हो । नत्र त बढ्दो गर्मी, वर्षाको सुरु जस्ता कारणले पर्यटक आगमनमा कमी हुँदा सौराहा, जगतपुर, मेघौली, भरतपुर र नारायणगढ क्षेत्रका होटेल तथा पर्यटन व्यवसायी यही समयलाई मर्मतसम्भार, रङरोगन र आन्तरिक व्यवस्थापनका काममा उपयोग गर्थे ।

असार ७, ८ र ९ गतेका लागि तय गरिएको महाधिवेशनका कारण देशका विभिन्न स्थान र विदेशबाट आएका प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक, शुभेच्छुक तथा सञ्चारकर्मीले यहाँका होटेल लज भरिए । महाधिवेशनको कार्यतालिका लम्बिँदै जाँदा उनीहरूको बसाइ अवधि पनि बढ्यो, जसको प्रत्यक्ष लाभ होटेल, रेस्टुरेन्ट, यातायात, खुद्रा व्यापार तथा सेवा क्षेत्रले प्राप्त गरिरहेका छन् ।

सङ्घमा आबद्ध करिब एक हजार होटेलमध्ये छ सयभन्दा बढी भरतपुर–नारायणगढ क्षेत्रमा छन् । होटेल व्यवसायी सङ्घ चितवनका अध्यक्ष ऋषिकेश अर्यालका अनुसार असार ६ गतेदेखि नै चितवनका अधिकांश होटेल पूर्ण रूपमा भरिए । “चितवनको भरतपुर मात्र होइन, छिमेकी गैँडाकोट, जुगेडी, नारायणगढ, सौराहा, जगतपुर र मेघौलीसम्मका होटेलमा कोठा पाउन मुस्किल भएको छ,” उहाँले भन्नुभयो ।

गर्मीका कारण विशेष गरी वातानुकूलित (एसी) कोठाको माग अत्यधिक बढेको अध्यक्ष अर्याल बताउनुहुन्छ । “धेरै दिनपछि होटेल व्यवसायले यस्तो चहलपहल देखेको छ । पाँच दिनभन्दा बढी समयदेखि होटेल लगभग पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्,” उहाँले भन्नुभयो ।

यस्ता ठुला कार्यक्रमले स्थानीय अर्थतन्त्रमा गुणात्मक प्रभाव सिर्जना गर्छ । अर्थात् होटेलमा बस्ने पाहुनाले आवासमा मात्र खर्च गर्दैनन्, उनीहरूले खाना, यातायात, किनमेल, मनोरञ्जन तथा अन्य सेवामा समेत खर्च गर्छन् । त्यसको प्रत्यक्ष लाभ स्थानीय व्यवसायी, श्रमिक र सेवा प्रदायकलाई पुग्छ ।

चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीका अनुसार महाधिवेशनलाई केवल राजनीतिक कार्यक्रमका रूपमा मात्र हेर्न मिल्दैन । “यस्तो कार्यक्रमले स्थानीय बजारमा नगद प्रवाह बढाउँछ । होटेल व्यवसाय मात्र होइन, पसल, रेस्टुरेन्ट, यातायात, फोटोकपी, स्टेसनरी, खाद्यान्न तथा अन्य साना व्यवसायसमेत लाभान्वित भएका छन्,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार प्रतिनिधिको बसाइ लम्बिँदा दैनिक उपभोग्य वस्तु र सेवाको मागसमेत बढेको छ । यसले बजारमा आर्थिक गतिविधि बढाउनुका साथै स्थानीय व्यवसायीमा उत्साह थपेको छ ।

महाधिवेशनको प्रभाव भरतपुरमा मात्र सीमित रहेन । पर्यटकीय नगरी सौराहाले पनि यसको लाभ लिएको छ । क्षेत्रीय होटेल सङ्घ सौराहा च्याप्टरका महासचिव महेश खनालका अनुसार सौराहाका होटेल करिब ८० प्रतिशतसम्म भरिएका छन् ।

“कार्यक्रम भरतपुरमा भए पनि धेरै प्रतिनिधि तथा आगन्तुक बस्न र घुम्न सौराहा आएका छन्,” उहाँले भन्नुभयो । महाधिवेशनमा सहभागी हुन आएका पाहुनाले चितवन राष्ट्रिय निकुञ्जआसपासका क्षेत्र, सौराहाको पर्यटन गतिविधि तथा स्थानीय आतिथ्य सेवाको समेत उपयोग गरेको उहाँको भनाइ छ । खनालका अनुसार सामान्य अवस्थामा यो समय पर्यटक आगमन कम हुने भएकाले होटेलको अकुपेन्सी दर न्यून हुनेमा यस वर्ष राजनीतिक कार्यक्रमकै कारण पर्यटन व्यवसायले अफ सिजनमा समेत राम्रो कारोबार गर्न सफल भएको छ ।

यसअघि पनि नेकपा (एमाले) ले आफ्नो महाधिवेशन सौराहामा आयोजना गरेको थियो । त्यसले यहाँको अर्थतन्त्रमा चलायमान पारेको थियो । महाधिवेशनको प्रभाव तत्काल मात्र नभएर पछिसम्म पर्ने व्यवसायीको भनाइ छ ।

क्षेत्रीय होटेल सङ्घ सौराहा च्याप्टका अध्यक्ष ओम पाण्डेले सुरुमा टाँडीमा आयोजना गर्ने कार्यक्रम सरेर भरतपुर पुगे पनि प्रभाव भने राम्रो परेको बताउनुभयो । “टाँडीमा नै आयोजना भएको भए हामीलाई व्यवस्थापन गर्न जटिल हुने थियो,” उहाँले भन्नुभयो, “सौराहाको अहिलको क्षमता एकै पटक चार हजारभन्दा धेरै पाहुना सुताउन सक्छौँ । त्योभन्दा धेरै भएमा व्यवस्थापनमा जटिलता आउन सक्छ ।” जिल्लामा हुने यस्ता कार्यक्रमले चितवन जस्ता पर्यटकीय जिल्लामा सम्मेलन, महाधिवेशन, प्रदर्शनी र राष्ट्रियस्तरका कार्यक्रम नियमित रूपमा आयोजना गर्न सके पर्यटन र सेवा क्षेत्रलाई वर्षभरि नै चलायमान बनाउन सकिने सम्भावना पनि उजागर गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)