सूचना लुकाउँदा बढ्यो जोखिम प्रमुखमाथि छानबिन
newsofnepal.com · Thu Jun 25 01:25:14 GMT 2026

काठमाडौं ।
ललितपुरस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण फैलिएको विषय समयमै सार्वजनिक नगरेको आरोपमा राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना प्रमुख सत्यनारायण साहलाई जिम्मेवारीबाट हटाएर छानबिन प्रक्रिया अघि बढाएको छ । कोषले संक्रमण देखिएपछि पनि आवश्यक सतर्कता अपनाउन ढिलाइ भएको, सम्बन्धित निकायलाई समयमै जानकारी नदिएको तथा जोखिम व्यवस्थापनमा कमजोरी देखिएको निष्कर्ष निकालेपछि यो कदम चालेको हो ।
पशु सेवा विभागका अनुसार चिडियाखानाभित्र रहेका चराचुरुङ्गीहरू जेठ २९ गतेदेखि नै मर्न थालेका थिए । तर चिडियाखाना प्रशासनले अवस्था गम्भीर बन्दै गएको जानकारी समयमै बाहिर ल्याएन । चराहरू मर्ने क्रम नरोकिएपछि असार १ गते तीनवटा मृत चराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा परीक्षणका लागि पठाइएको थियो । परीक्षणबाट ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एच ५ एन १)’ अर्थात् बर्डफ्लु पुष्टि भएको थियो ।
पशु सेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार नमुना प्राप्त हुनासाथ ¥यापिड टेस्ट र पीसीआर परीक्षण गरिएको थियो । परीक्षणले एच ५ एन १ संक्रमण पुष्टि गरेपछि विभागको टोली चिडियाखाना पुगेको थियो । टोलीले त्यहाँ पुग्दा केही समयअघिदेखि नै चराहरू मर्ने क्रम चलिरहेको र केही परीक्षणहरू चिडियाखाना व्यवस्थापनले आफैं गरिरहेको जानकारी प्राप्त गरेको थियो ।
संक्रमण पुष्टि भएपछि चिडियाखाना असार ५ गतेदेखि बन्द गरिएको थियो । अहिले चिडियाखाना पूर्णरूपमा सिल गरिएको छ र प्रवेशमा रोक लगाइएको छ । हालसम्म साना–ठूला गरी ३७ पशुपन्छी मरिसकेका छन् भने २४ वटामा बर्डफ्लु संक्रमण पुष्टि भएको छ ।
संक्रमणका कारण लोपोन्मुख तथा दुर्लभ प्रजातिका लाटोकोसेरो, बकुल्ला, गिद्ध, राजहाँस, सारसलगायतका पन्छीहरू मरेका छन् । चिडियाखानाका निमित्त प्रमुख बाबुलाल तिरुवाका अनुसार केही साना स्तनधारी जनावरहरूमा समेत संक्रमण देखिएको छ । जंगली बिरालो, नीरबिरालो, चरीबाघ, हरिण तथा बाँदरमा संक्रमण पुष्टि भएको छ भने जंगली बिरालो र चरीबाघको मृत्यु भइसकेको छ ।
विशेषज्ञहरूका अनुसार एच ५ एन १ भाइरस पन्छीहरूमा अत्यन्त छिटो फैलिने रोग हो । एकपटक संक्रमण फैलिन थालेपछि नियन्त्रण गर्न कठिन हुन्छ । यसले वन्यजन्तु संरक्षणमा प्रत्यक्ष असर पु¥याउने मात्र होइन, दुर्लभ तथा संकटापन्न प्रजातिको अस्तित्वमै चुनौती खडा गर्न सक्छ । विश्वका विभिन्न देशमा यो भाइरस केही अवस्थामा मानिसमा समेत सरेको र मृत्युका घटनासमेत भएका छन् । त्यसैले चिडियाखानामा देखिएको संक्रमणलाई सामान्य रूपमा लिन नसकिने पशु स्वास्थ्य विज्ञहरूको भनाइ छ । केही समयअघि नेपालमा पनि एक जना मानिसमा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो ।
नेपालमा बर्डफ्लुको इतिहास हेर्दा सन् २००९ मा झापाबाट पहिलोपटक उच्च संक्रामक एभियन इन्फ्लुएन्जा (एचपीएआई) पुष्टि भएको थियो । त्यसयता २०२५ सम्म नेपालमा बर्डफ्लुका ३२० भन्दा बढी प्रकोप दर्ता भइसकेका छन् । यी प्रकोपका क्रममा ३ लाख ३५ हजारभन्दा बढी पन्छी मरेको सरकारी तथा वैज्ञानिक अभिलेखमा उल्लेख छ ।
हालैका वर्षहरूमा पनि बर्डफ्लुले ठूलो आर्थिक तथा जैविक क्षति पु¥याएको छ । २०२३ मा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा संक्रमण फैलिएपछि ११ हजार ६७२ भन्दा बढी कुखुरा, हाँस, टर्की, बट्टाई लगायतका पन्छी नष्ट गरिएको थियो । त्यतिबेला हजारौं अण्डा र दानासमेत नष्ट गर्नुपरेको थियो ।
यसै वर्ष २०२६ मा देशका १० जिल्लामा फैलिएको बर्डफ्लु नियन्त्रणका लागि करिब सात लाख पन्छी नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ । संक्रमण नियन्त्रणका क्रममा ११ लाखभन्दा बढी अण्डा र तीन लाख किलोग्रामभन्दा बढी दाना पनि नष्ट गरिएको थियो । काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन काभ्रे र नवलपरासी प्रभावित जिल्लामा परेका थिए ।
विज्ञहरूका अनुसार बर्डफ्लु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय प्रारम्भिक पहिचान, संक्रमित क्षेत्रको तत्काल सिलबन्दी, जैविक सुरक्षा (बायोसेक्युरिटी) कडाइका साथ लागू गर्नु र सूचना प्रणालीलाई चुस्त बनाउनु हो । चिडियाखानाको पछिल्लो घटनाले भने संक्रमण देखिएपछि पनि समयमै सूचना नदिँदा जोखिम कति बढ्न सक्छ भन्ने स्पष्ट देखाएको छ ।
अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले घटनाबारे विस्तृत छानबिन गरिरहेको छ । छानबिनले संक्रमण लुकाइएको हो वा व्यवस्थापकीय कमजोरीका कारण नियन्त्रणमा ढिलाइ भएको हो भन्ने निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । तर दुर्लभ वन्यजन्तु र पन्छीको संरक्षण केन्द्रकै रूपमा रहेको चिडियाखानाभित्र बर्डफ्लु फैलिनु र त्यसबारे समयमै जानकारी नदिनु भने सम्बन्धित निकायका लागि गम्भीर प्रश्न बनेको छ । चिडियाखानाभित्रको संक्रमण नियन्त्रणमा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ भने वन्यजन्तु संरक्षण र जनस्वास्थ्य दुवै दृष्टिले यो घटनालाई उच्च प्राथमिकताका साथ हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ