प्रतिबद्धता पूरा गरेर काठमाडौं फर्किए प्रधानमन्त्री बालेन शाह : रास्वपा प्रवक्ता मनिष झा
barnanmedia.com · Thu Jun 25 01:37:59 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) महाधिवेशनमा गरेको प्रतिबद्धता पूरा गरेर काठमाडौं फर्किएको बताएका छन्।
चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा मतदानको तयारी भइरहेका बेला प्रधानमन्त्री शाह बुधबार काठमाडौं फर्किएका थिए। त्यसबारे सञ्चारकर्मीहरूले जिज्ञासा राखेपछि प्रवक्ता झाले प्रतिक्रिया दिएका हुन्।
झाले प्रधानमन्त्री शाहलाई देशको जिम्मेवारीले काठमाडौं फर्किन बाध्य बनाएको उल्लेख गर्दै उद्घाटन समारोहमै उनले पार्टीका लागि तीन दिन समय छुट्याएर आएको र त्यसपछि आफ्नो समय देशका लागि हुने बताएका स्मरण गराए।
‘उहाँले तीन दिन पार्टीका लागि समय लिएर आएको छु भन्नुभएको थियो। त्यसपछि मेरो समय देशका लागि हो भन्नुभएको थियो,’ झाले भने, ‘उहाँ आफ्नो प्रतिबद्धताअनुसार नै बस्नुभयो।’
महाधिवेशनअघि प्रधानमन्त्री शाह सहभागी हुने वा नहुनेबारे विभिन्न अड्कलबाजी भएको उल्लेख गर्दै झाले अन्ततः उनले तीन दिनसम्म महाधिवेशनमा सक्रिय सहभागिता जनाएको बताए। पार्टीले अपेक्षा गरेभन्दा बढी समय शाहले महाधिवेशनलाई दिएको उनको दाबी छ।
प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले देशको काम छाडेर लामो समय पार्टी कार्यक्रममा बसिरहनु उपयुक्त नहुने भएकाले उनको काठमाडौं फिर्तीलाई अस्वाभाविक रूपमा लिन नहुने झाले बताए।
व्यंग्यात्मक शैलीमा उनले भने, ‘यदि उहाँ अझै बसिरहनुभएको भए फेरि सिंहदरबारको चिन्ता छैन भन्ने प्रश्न उठ्थ्यो।’
प्रवक्ता झाले आगामी दिनमा राजनीतिक प्रशिक्षण तथा नेतृत्व विकास कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै अनावश्यक खर्च र प्रक्रियागत झन्झट कम गर्ने दिशामा पार्टीले काम गर्ने पनि जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ
बालेन शाह