मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

onlinekhabar.com · Thu Jun 25 01:58:48 GMT 2026

११ असार, लन्डन । नेपाली ‘कम्युनिष्ट आन्दोलनका पिता’ पनि भनिने ९२ वर्षीय मोहन विक्रम सिंहले बेलायतको सत्तारुढ लेबर पार्टीका पूर्व प्रमुख एवं हाल योर पार्टीका नेता जेरेमी कोर्बिनसंग भेटघाट गरेका छन् ।

मंगलबार बेलायती संसद भवनमा दुई पाका नेताहरुबीच भेटघाट भएको हो । झण्डै एक घण्टा लामो भेटवार्तामा समाजवादी आन्दोलन, युद्धविरोधी अभियान, नेपाल र बेलायतको राजनीति एवं साम्राज्यवादी मुलुकहरुले गरिरहेको रक्षाबजेट वृद्धि आदिबारे कुराकानी भएको वार्तामा सहभागी एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले जनाए ।

सांसद समेत रहेका सोसलिष्ट लिडर कोर्बिनले संसारभर अल्पसंख्यकमाथि भइरहेको हमला र रक्षा बजेट वृद्धिप्रति चिन्ता व्यक्त गर्दै शान्तिको पक्षमा आफ्नो अभियानबारे अवगत गराएका थिए । बेलायतमा समेत दक्षिणपन्थीहरुले आप्रवासीहरुलाई खेदिरहेको उल्लेख गर्दै नेता कोर्बिनले नेपालमा समाजवादी पक्षधारहरु किन एकै ठाउंमा हुन नसकेका भन्नेबारे चासो राखेका थिए ।

जनपक्षीय नेता कोर्बिनले यूकेमा नेपाली समुदायको अवस्थाबारे चासो राख्ने क्रममा यहां नेपालीको बढ्दो जनसंख्याप्रति आश्चर्य समेत प्रकट गरेका थिए । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका समस्या र यसको समाधानमा आफ्नो पहल रहने पनि उनले आश्वासन दिएका थिए ।

सो अवसरमा सिंहले नेपालमा अमेरिकी र भारतीय प्रभाव बढिरहेको बताउंदै आफूहरु संविधान, लोकतन्त्र, गणतन्त्र, नागरिकको मौलिक हकअधिकारको रक्षार्थ लडिरहेको बताएका थिए । वर्तमान सरकारले नागरिकका अधिकार संकुचित गर्न खोजिरहेको भन्दै उनले वाम एकतामा समेत जोड दिएका पुडासैनीले बताए ।

७७ वर्षीय समाजवादी नेता जेरेमी बर्नार्ड कोर्बिन सन् १९८३ देखि इस्लिङ्टन नर्थका लागि संसद सदस्य छन् । उनले गत वर्षमात्र जाराह सुल्तानासँग मिलेर योर पार्टी गठन गरेका थिए जसको उनी संसदीय नेता पनि हुन् ।

लामो समय भूमिगत, अर्धभूमिगत हुंदै दुई वर्षअघि सार्वजनिक रुपमा सक्रिय वयोवृद्ध नेता सिंह पहिलोपटक बेलायत आएका हुन् ।

सिंहले बेलायत भ्रमणका क्रममा कार्ल मार्क्सको समाधि, ब्रिटिश पुस्तकालय, लन्डनस्थित नेपाली दूतावास र नेपाली समुदायसंग भेटघाट गरेका उनको भ्रमणको सहजीकरण गरि रहेका वाम वुद्धिजिवी एवं पूर्व विद्यार्थी नेता प्रकाश ज्ञवालीले बताए ।

नेपालमा कम्युनिष्ट आन्दोलन चिरा चिरा भएको अवस्थामा वाम आन्दोलनलाई एकीकृत गर्ने सिंहको पहलमा बेलायती नेपाली वुद्धिजिवी वर्गले पनि साथ दिएको ज्ञवालीले बताए । नेपालमा ‘लेफ्ट मुभमेन्ट’ को महत्व झन् बढ्दै गएको उनको भनाइ थियो ।

गत बिहीबार जर्मनीबाट बेलायत आएका नेता सिंह सोमबार नेपाल फर्कने कार्यक्रम छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)