महासभामा जलवायु न्याय
gorkhapatraonline.com · Thu Sep 17 02:14:56 GMT 2026

संयुक्त राष्ट्रसङ्घ विश्ववासीको आवाज गुन्जिने र सुनिने सबैभन्दा ठुलो विश्व संस्था हो । पहिलो र दोस्रो विश्वयुद्धले तहसनहस भएको विश्वलाई पुनर्जीवन दिन स्थापना भएको यो संस्थाप्रति विश्ववासीको ठुलो अपेक्षा छ । यस संस्थामा आबद्ध १९३ सदस्य राष्ट्रको प्रतिनिधित्व हुने महासभामा हुने सम्बोधन, छलफल र बहसको विशिष्ट महत्व छ । अहिले ८१ औँ महासभा यसको मुख्यालय अमेरिकाको न्युयोर्कमा जारी छ । यस पटक महासभाको अध्यक्षता बङ्गलादेशी कूटनीतिज्ञ खलिलुर रहमानले गर्नुभएको छ । ‘विश्वासको पुनर्बहाली, रूपान्तरणको व्यवस्थापन : सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ’ नाराका साथ मङ्गलबारदेखि महासभा सुरु भएको हो । विश्वयुद्धको खरानीबाट मानवतालाई जोगाउनु, पुन: विश्वयुद्ध हुन नदिन र शान्ति स्थापना गर्नु यसको मुख्य उद्देश्य हो । सन् १९४५ मा स्थापित यो वैश्विक संस्था आज आफ्नो इतिहासकै जटिल र चुनौतीपूर्ण कालखण्डमा छ । भूराजनीतिक ध्रुवीकरण, जलवायु परिवर्तनले ल्याएको महासङ्कटको भयावह रूप, गरिबी र प्रविधिको अनियन्त्रित विस्तारले खडा गरेका चुनौती महासभाका लागि चोटिला विषय बनेका छन् । महासभा केवल औपचारिक भाषणबाजीमा मात्र सीमित हुनु हुँदैन । महासभाले ठोस कार्ययोजना, दरिलो राजनीतिक इच्छाशक्ति र बहुपक्षीयताप्रतिको इमानदार प्रतिबद्धता प्रदर्शन गर्नुपर्ने बेला आएको छ । अब महासभा परम्परागत ढाँचाभन्दा फरक र परिणाममुखी हुनु पर्छ ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले महासभाको उद्घाटन सत्रमा चोटिलो र मार्मिक सम्बोधन गर्नुभयो । उहाँले भने झैँ आज विश्वव्यापी रूपमा बहुपक्षीय संस्थाप्रतिको जनविश्वास निकै कमजोर भएको छ । शक्तिशाली राष्ट्रले अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारका मूल्यलाई आफ्नो अनुकूलतामा प्रयोग गर्दा साना र विकासोन्मुख राष्ट्रले असुरक्षित महसुस गरिरहेका छन् । त्यसैले यो महासभाले संसारभरिका आठ अर्ब मानिसलाई राष्ट्रसङ्घ नै उनीहरूको सुखदु:खको साथी हो भन्ने विश्वास दिलाउन सक्नु पर्छ । महासभाको सुन्दरता भनेकै यहाँ सबै १९३ सदस्य राष्ट्रको मतको मूल्य समान हुन्छ । यो महासभा केवल शक्तिशाली मुलुकको भूराजनीतिक प्रभाव प्रदर्शन गर्ने क्रीडास्थल हुनु हुँदैन । यसले नेपाल जस्ता अल्पविकसित, भूपरिवेष्ठित तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकको आवाजलाई प्राथमिकतासाथ सुन्नु र सम्बोधन गर्नु पर्छ । महासभाका अध्यक्ष रहमानले भन्नुभएको छ, “यो सन् १९४५ होइन, यो ८१ औँ महासभा हो । विश्व धेरै अगाडि बढिसक्यो, त्यसैले राष्ट्रसङ्घ पनि अगाडि बढ्नै पर्छ । महासभाले २१ औँ शताब्दीका चुनौती जस्तै : कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा र महामारीलाई सम्बोधन गर्न सक्ने गरी राष्ट्रसङ्घीय संरचनालाई समयानुकूल बनाउने मार्गचित्र कोर्नु पर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)