चौध प्रतिशतभन्दा बढी बालबालिकामा कुपोषण
gorkhapatraonline.com · Thu Sep 17 04:21:15 GMT 2026

धान उत्पादनका लागि परिचित बर्दिया जिल्लामा पाँच वर्षमुनिका १४.३२ प्रतिशत बालबालिका कुपोषित रहेका पाइएको छ । जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन हुने भए पनि बालबालिकाको खानपान र स्याहारमा पर्याप्त ध्यान नदिँदा कुपोषणको अवस्था कायमै रहेको हो ।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख उमेश गौतमले जिल्लाको कुपोषणको अवस्था चिन्ताजनक रहेको बताउनुभयो । उहाँले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पाँच वर्षमुनिका बालबालिकामा १० देखि १५ प्रतिशतसम्म कुपोषण देखिनुलाई गम्भीर अवस्था मानिने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जिल्लामा कुपोषणको दर १४ प्रतिशतभन्दा माथि छ । त्यसैले कुपोषण घटाउन तत्काल फरक ढङ्गले योजना बनाएर कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।” बर्दिया अस्पतालका बालरोग विशेषज्ञ डा. विश्वनाथ शाहका अनुसार कुपोषित आमाबाट जन्मिएका बालबालिकामा पनि कुपोषणको जोखिम बढी हुने गरेको छ । उहाँले कतिपय बालबालिका आवश्यक पोसिलो खाना नपाउँदा कुपोषित हुने गरेका बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)