संविधान संशोधनबारे राष्ट्रिय जनमोर्चाले थाल्यो छलफल
gorkhapatraonline.com · Mon Jun 01 09:46:41 GMT 2026

राष्ट्रिय जनमोर्चा बागलुङले संविधान संशोधनका एजेण्डाबारे औपचारिक छलफल सुरु गरेको छ । सरकारले पनि संविधान संशोधनको तयारी स्वरुप समिति गठन गरेपछि उक्त पार्टीले औपचारिक रुपमै छलफल थालेको हो ।
जिल्लाका क्रियाशिल राजनीतिक दल, संघसंस्था र कार्यकर्ताबीच आइतबार छलफल गरेर कस्ता विषय संशोधन गर्ने, कस्ता नगर्ने भन्नेमा सुझाव समेत मागेको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव कृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै संघियता खारेज, समावेशी समानुपातिक व्यवस्थालाई अझै प्रभावकारी बनाउने र संसदीय व्यवस्थामा आधारित गणतन्त्रको भने रक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।
जनमोर्चाका केन्द्रीय र जिल्ला तहका नेताले अपरिवर्तनीय विषयलाई अध्यादेशबाट परिवर्तन गर्न नपाइने, संवैधानिक विषयमा सरकार निरंकुश बन्न नहुने सुझाव दिनुभएको थियो । कार्यक्रममा उच्च अदालत बागलुङ बार एसोसिएसनकी अध्यक्ष गीता श्रीषले संविधान संशोधन मात्र नभइ संविधान कार्यान्वयनको प्रश्न पनि रहेको बताउनुभयो ।
श्रीसले संविधान लेखन गलत हो वा कार्यान्वयन गर्नेहरु गलत हुन्, त्यो स्पष्ट भएमा एजेण्डाहरुमा मात्रै संशोधन गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।उहाँले संविधानमा उल्लेख भएअनुसार तीन वर्षभित्र कानून बनाएर मौलीक हक कार्यान्वयन गराउने दायित्वबाट नेतृत्व पछि परेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा एमाले सचिव गणेशबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका राजिव घिमिरे, नेपाल कम्प्युनिष्ट पार्टी माओवादीका नेता टेकबहादुर केसी आजाद, वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अबिरल’, धौलागिरि बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष भक्तीराम न्यौपाने लगायतले संविधान संशोधन गर्दा देश र जनतालाई अगाडि राखेर आवस्यकताको आधारमा गर्न सुझाव दिनुभएको थियो ।
उहाँहरुले संविधान संशोधनको नाउँमा राजा ल्याउन नहुने, संविधानका अन्तरबस्तु र मर्मलाई प्रहार गर्न नहुने पनि बताउनुभयो । रानमोर्चा बागलुङका जिल्ला अध्यक्ष तिलक थापाको अध्यक्षता, केन्द्रीय सदस्य लक्ष्मी बास्कोटाको स्वागत र जिल्ला सचिव भीमलाल पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)