मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

gorkhapatraonline.com · Mon Jun 01 11:53:55 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभामा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । नीति तथा कार्यक्रमले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारीलाई प्राथमिकता दिएको छ ।

संघ र प्रदेशको चालु आवधिक योजना एवम् आगामी दोस्रो पञ्चवर्षीय योजनाले निर्दिष्ट गरेका लक्ष्य, उद्देश्य, प्राथमिकताका साथै पञ्चवर्षीय योजना कार्यान्वयनबाट सिकेका पाठ र हासिल गरेका उपलब्धिको आधारमा क्षेत्रगत आयोजनाहरुमा विनियोजन सन्तुलन कायम हुने गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गरिने जनाइएको छ ।

आयोजना छनोट तथा प्राथमिकीकरण प्रक्रियालाई परिणाममुखी बनाउन आयोजना छनोट सम्बन्धी मापदण्ड र आयोजना बैङ्कलाई आधार लिइ कार्यक्रम कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश गौरवका आयोजनाहरु आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी बजेट विनियोजन, सहजीकरण, समन्वय र नियमन गर्ने प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा जनाइएको छ । प्रदेश प्रमुख स्टार्टअप कार्यक्रम मार्फत सीप विकास कार्यक्रम सञ्चालन गरी नवयुवाहरुमा उद्यमशीलता प्रवद्र्धन गर्दै स्वरोजगार अभिवृद्धि गर्न प्रदेश स्वरोजगार विकास कोषको क्षमता अभिवृद्धि गरिने जनाइएको छ ।

वैदेशिक रोजगारबाट फर्किएका, द्वन्द्व प्रभावित, अपाङ्ग, घाइते, सहिद परिवार, एकल महिला, मुक्त कमैया, कमलरी, हलिया, दलित, बादी, राजी, राउटे, गरिबीको रेखामुनि रहेका वर्ग र समुदायका स्वरोजगार बन्न चाहने युवायुवतीका लागि कोषले तालिम प्रदायक निकायहरुसंग सहकार्यमा सीपमूलक तालिम सञ्चालन गर्ने जनाइएको छ । साथै, सहुलियत ब्याजदरमा उनीहरुलाई कर्जा पनि प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)