घ्याप्चे पहिरोको उच्च जोखिममा मन्थली र आसपासका बस्ती
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ । रामेछापको रणजोर खोलाको सिरमा रहेको घ्याप्चे पहिरोका कारण मन्थली नगरपालिका अन्तर्गतका गैराथोक, सामलिस्थान, अर्चले, सुनारपानी र मन्थली लगायतका क्षेत्रमा ठुलो क्षति पुगेको छ। हिउँद होस् वा वर्षा, सधैँ पहिरो जाने घ्याप्चेमा पानी पर्दा वा घाम चर्कँदा पनि पहिरो जाने गरेको छ। यस क्षेत्रमा दैनिक जाने पहिरोका कारण आसपासका क्षेत्रमा सधैँ धुलो उड्ने गरेको छ भने रणजोर खोलाको सिरबाट सुरु हुने उक्त पहिरो रणजोर खोलाले नै बगाएर मन्थली हुँदै तामाकोसी नदीमा पुर्याउने गर्दछ।
भौगोलिक विज्ञ तथा रामेछापबाट निर्वाचित पूर्वसांसद देवशंकर पौडेलका अनुसार यो पहिरो विसं १९७२ देखि जान सुरु भएको थियो भने विसं २०११ सालदेखि भने यो निरन्तर पहिरिँदै आएको छ। २०११ सालदेखि गएको भीषण पहिरोले गैराथोक, अर्चले, सामलिस्थान र मन्थली घाटजस्ता क्षेत्रका कयौँ बस्ती उठाइसकेको छ। गैराथोकदेखि मन्थलीको तामाकोसी किनारसम्मको तटीय क्षेत्रको सयौँ रोपनी खेत पहिरोले बगाउने र पुर्ने काम गरिसकेको उल्लेख गर्दै पौडेलले यसले लाखौँ मुरी धान फल्ने खेत बिगार्नुका साथै धेरै बस्ती नै उठाएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)