मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान

ratopati.com · Sat Jun 06 08:48:26 GMT 2026

काठमाडौँ । रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले काठमाडौँ उपत्यकाभित्र २७.५ किलोमिटर लामो रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता माग गरेको छ । ‘रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना’ ले यसका लागि अन्तर्राष्ट्रिय स्तरको आसयपत्र आह्वान गरेको हो ।

आयोजनाले जारी गरेको सूचनाअनुसार यो रेलमार्ग नारायणगोपाल चोकबाट सुरु भई चाबहिल– कोटेश्वर– सातदोबाटो– रत्नपार्क हुँदै पुनः नारायणगोपाल चोकसम्म पुग्ने चक्रपथ रुटमा प्रस्ताव गरिएको छ । यस आयोजनाको सम्पूर्ण खर्च नेपाल सरकारको आफ्नै बजेटबाट व्यहोरिने उल्लेख छ ।

इच्छुक अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीहरूले २०२६ जुन १५ तारिखको दिउँसो १२ बजेभित्र सार्वजनिक खरिद अनुगमन कार्यालयको इ–जीपी प्रणाली (www.bolpatra.gov.np/egp) मार्फत अनलाइन आवेदन दिइसक्नुपर्नेछ । तोकिएको अन्तिम मितिमा सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टलाई अन्तिम दिन मानिने सूचनामा उल्लेख छ ।

आशय पत्रको मूल्याङ्कन परामर्शदाता कम्पनी र त्यहाँ कार्यरत मुख्य कर्मचारीको योग्यता (५० प्रतिशत), अनुभव (४० प्रतिशत) र क्षमता (१० प्रतिशत) का आधारमा गरिने आयोजनाले जनाएको छ । प्रारम्भिक छनोट (सर्टलिस्ट) मा पर्नका लागि कम्पनीले न्यूनतम ७० अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

यसरी आशय पत्रको मूल्याङ्कनबाट छनोटमा परेका उत्कृष्ट (सर्टलिस्टेड) कम्पनीहरूलाई मात्र प्राविधिक र आर्थिक प्रस्तावका लागि आमन्त्रण गरिनेछ । थप जानकारीका लागि आयोजनाको कार्यालय वा इ–जीपी पोर्टलमा हेर्न सकिने जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)