एउटै छानामुनि पनि टाढिँदैछन् परिवार
nepalnews.com · Thu Sep 17 08:15:28 GMT 2026

हामीले औँलाको एक क्लिकमा संसारभरिका अपरिचितहरूलाई त ‘फलो’ गर्यौँ, तर आफ्नै ओतभित्र रहेका आमाबाबु र छोराछोरीलाई भने ‘अनफलो’ गर्दै गइरहेका छौँ। परिवार मानव सभ्यताको सबैभन्दा जेठो, बलियो र सुरक्षित सामाजिक संस्था हो। यो केवल एउटा छानामुनि बस्ने मानिसहरूको समूह मात्र होइन, बरु माया, विश्वास, त्याग र सामीप्यताको यस्तो बलियो कडी हो, जसले व्यक्तिलाई समाजसँग जोड्छ। पूर्वीय दर्शन र विशेष गरी नेपाली समाजमा परिवारलाई सुख-दुःखको पहिलो चौतारी, संस्कार सिक्ने पाठशाला र संकटको सारथिका रूपमा हेरिँदै आइएको छ।
तर, एक्काइसौँ शताब्दीको यस आधुनिक कालखण्डमा आइपुग्दा हाम्रो यो आधारभूत संरचना तीव्र गतिमा हल्लिरहेको छ। बाहिरबाट हेर्दा आधुनिक, सुशिक्षित र आर्थिक रूपमा सबल देखिने आजको समाज भित्रभित्रै भावनात्मक रूपमा खोक्रो र एकाङ्की बन्दै गएको छ। एउटै घर, एउटै कोठा र कतिपय अवस्थामा एउटै ओछ्यानमा सँगै भएर पनि परिवारका सदस्यहरू एकअर्काबाट हजारौँ माइल टाढा छन्। सामीप्यता हराउँदै गएको छ, सम्बन्धहरू केवल औपचारिकतामा खुम्चिएका छन् र पारिवारिक संरचना कमजोर बन्दै गएको छ। यो बदलिँदो सामाजिक यथार्थ र यसले निम्त्याएको मनोवैज्ञानिक संकटको गहिराइलाई बुझ्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)