बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी
baahrakhari.com · Mon Jun 01 13:55:43 GMT 2026

काठमाडौं। महानगरपालिकाको सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ताका लागि ६ हजारभन्दा बढी बचतकर्ताले माग गरेका छन् ।
कामपा सहकारी विभागका अनुसार पछिल्लो समय बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको हो । सहकारी विकागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार उल्लेखित बचत रकम फिर्ताका लागि गत वैशाख १७ गतेदेखि हालसम्म आएका उजुरीका आधारमा छ हजार ३०० बचतकर्ताले माग गरेका छन् ।
यसरी माग दाबी गर्ने बचतकर्तामा रु एक लाखदेखि रु पाँच लाखसम्मको रकम बढी रहेको उहाँले जानकारी दिए। प्रमुख काफ्लेले भने, “निवेदनका आधारमा औसतमा यसरी उजुरी दिनेमा दैनिक ५०० देखि एक हजार जम्मा गर्ने अर्थात् साना रकम जम्मा गर्ने बचतकर्ताको सङ्ख्या अत्यन्तै बढी छ ।” उनका अनुसार उजुरी आएकामध्ये साना बचतकर्ताको सङ्ख्या ७८ प्रतिशत छ ।
कामपाले गत सोमबार र मङ्गलवार गरी बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको प्रमुख काफ्लेले जानकारी दिए । कामपा–६ मा सञ्चालित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले उक्त दिन रु एक लाख ५० हजारसम्म बचत गर्नेको रकम फिर्ता गरेको हो ।
सहकारीले आगामी एक महिनाभित्र रु पाँच लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको विभागले जानकारी दिएको छ ।
कामपाले ठूला बचतकर्ताका हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीलाई पनि ताकेता गर्ने र बचतकर्ताको पनि बचत रकम फिर्ता गर्दै कार्य अघि बढाएको छ । सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको कामपा सहकारी विभागको भनाइ छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ